
लमजुङ जिल्लामा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै गएको छ । कृषि ज्ञान केन्द्रको तत्थ्याङ अनुसार विगतका केही वर्षहरुको तुलना गर्दा क्रमश खेतीयोग्य जमिन घट्दै गएको हो ।
लमजुङको ४५ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन मध्ये ९ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ भने गतवर्ष लगभग ३१ हजार १ सय ५८ मेट्रिक टन धान उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७७⁄०७८ मा लमजुङमा १४ हजार २ सय ६० हेक्टर जमिनमा धान खेती गरिएको थियो, जसबाट करिब ४४ हजार ७ सय ७६ मेट्रिक टन धान उत्पादन भएको थियो भने आ.व ०७९⁄८० मा घटेर १२ हजार १ सय २५ हेक्टरमा मात्रै धान खेती गरिएको र उत्पादन पनि ४० हजार ५० मेट्रिक टनमै सीमित रह्यो । यो तत्थ्याङको हेर्दा बर्षेनी खेतीयोग्य जमिन र उत्पादन पनि कम हुँदै गएको देखिन्छ ।
कृषिप्रधान देशमा यसरी वर्षेनी खेती योग्य जमिन र उत्पादन कम हुँदै चिन्ताको विषय रहेको सरोकारवालाहरुले बताएका छन् । जसमा समयमै मल र गुणस्तरीय बीउको अभाव, मजदुर अभाव, आधुनिक कृषि प्रविधि भित्र्याउन नसक्नु, पर्याप्त वर्षा नहुनु, मल र बीउ समयमा प्राप्त गर्न नसक्नु, मजदुर अभाव, पहिरो र माटो कटान, युवाहरुलाई सरकारले कृषि पेसाप्रति आर्कषण गर्न नसक्नु तथा प्रतिकूल मौसम, रोग–कीरा संक्रमण लगायतका युवाशक्ति बैदेशिक रोजगारीप्रति आकर्षण भई गाउँघरमा नबस्नु रहेको जन्मदिनमा बृक्षरोपण अभियान नेपाल लमजुङका संस्थापक अध्यक्ष बासुदेव सेढाईले बताउनुभयो ।
कृषि ज्ञानकेन्द्र लमजुङले जिल्लामा ६ वटा कृषि सम्पर्क केन्द्र, ४ वटा प्राविधिक शाखा, र ३ वटा शाखाहरूमार्फत कृषक समूहमा अनुदान तथा प्राविधिक सहायता प्रदान गरिरहेको जनाएको छ ।
कृषकलाई आधुनिक प्रविधि र कृषि विविधीकरणको माध्यमबाट उत्पादन वृद्धि गराउनुका साथै धान, दलहन, ताजा तरकारी, कफी, मसला, अलैँची, माछा, मौरी, च्याउ लगायतको उत्पादनलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको ज्ञानकेन्द्रको भनाई छ । साथै उन्नत बीउ, मल र प्राविधिमा पनि कृषकहरुलाई अनुदानका साथै सरसल्लाहको सहयोग गरेको कृषि ज्ञानकेन्द्रका प्रमुुख सुदिप खतिवडाले बताउनुभएको छ ।
जिल्लाका सुन्दरबजार, भोर्लेटार, चक्रतीर्थ, साइलीटार, धमिलिकुवा आदि क्षेत्रमा धान खेतीयोग्य जमिन भएको र उत्पादन तुलनात्मक अन्त भन्दा राम्रो रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
धेरै अनुदान राजनीतिक पहुँच भएका व्यक्तिहरूको माध्यमबाट वितरित भएको र यथार्थ किसानसम्म ज्यादै कम पुग्ने गरेको छ । राजनीतिक परिचय नभएका कृषकहरू प्रायः वितरण गरिने अनुदानबाट वञ्चित वा कम लाभान्वित भएको बेसीशहर ३ दनाई गाउँका गमबहादुर दनाईले बताउनुभयो ।









