
प्रदेश अस्पताल लमजुङमा एक वर्षको अवधीमा करिब सवा लाख सेवाग्राहीले सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८०⁄८१ को साउन देखि ०८१⁄८२ को असार मसान्तसम्म जम्मा १ लाख १३ हजार ८ सय ८ जनाले सेवा लिएका छन् । यो गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।
जिल्ला स्तरको अस्पतालले पनि प्रदेश अस्पतालको सरह सेवा सुविधा दिएकाले दिनप्रतिदिन विरामीको संख्या बढ्दै गएको अस्पतालका अध्यक्ष हरीजगं तामाङले बताउनुभयो । अन्य पोखरा, चितवन, काठमाडौं लगायतका ठूला अस्पतालमा जानुपर्ने विरामीलाई पनि जिल्ला अस्पतालमा नै सेवा पाउने भएपछि समय र पैसा दुवैको बचत हुने अध्यक्ष तामाङको भनाई छ ।

प्रदेश अस्पतालले प्रदान गरेको सेवामा आकस्मिक सेवा लिनेमा ९ हजार ६ सय ७ जना, अन्नरगं सेवा लिनेमा २ हजार ९ सय ३८ जना रहेका छन् । त्यस्तैगरी निदानात्मक सेवा तर्फ प्रयोगशाला सेवा लिने ४० हजार ४ सय ४७ जना रहेका छन् भने ११ हजार ८ सय १६ सेवाग्राहीले अल्ट्रासान्उड, २४ हजार ९ सय १९ जनाले एक्सरे सेवा, ९ हजार १ सय ७५ जनाले इसिजी सेवा, १ हजार २ सय ५९ जनाले इकोकार्डियोग्राफी सेवा, १ सय ८१ जनाले इन्डास्कोपी र ४ सय ९१ जनाले टेलिमेडिसिन सेवा लिएका छन् ।

त्यस्तैगरी शल्यक्रिया सेवा तर्फ १ हजार १ सय २४ जनाले सेवा लिएका छन् । जसमा १ सय ३८ जनको स्त्रीरोग शल्यक्रिया, २ सय १७ जनाको हाडजोर्नी शल्यक्रिया, ४ सय ९९ जनाको जनरल शल्यक्रिया, १० जनाको दुरविनबाट शल्यक्रिया र २ सय ६० जनाको प्रशुती सम्बन्धी शल्यक्रिया गरिएको छ ।
प्रदेश अस्पताल लमजुङले दिनप्रतिदिन आफ्नो सेवाहरु विस्तार गर्दै लगेकाले जिल्ला भित्र र छिमेकी जिल्ला मनाङ, गोर्खा र तनहुँका केही भागका विरामीहरु समेत उपचारको लागि आउने गरेका छन् । गतवर्ष देखि मृगौलाका विरामीहरुलाई डायलासिस सेवा उपलब्ध गराउँदै आएको अस्पतालले एक वर्षको अवधिमा दुर्गम क्षेत्रका नागरिकहरुलाई लक्षित गरी टेलिमेडिसिन सेवा, इन्डस्कोपी सेवा लगायतका सेवा थप गर्दै आएको छ भने पछिल्लो समय दुरविनबाट शल्यक्रिया गर्ने सेवा पनि थप गरेको अस्पताल प्रमुख मेसु शिशिर देवकोटाले बताउनुभयो ।

धेरै सेवाहरु जिल्ला अस्पतालमा नै पाउन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको संख्या पनि ह्वात्तै वृद्धी भएको छ । अहिले दैनिक ४ देखि ५ सयको हाराहारीमा विरामीहरु उपचारका लागि प्रदेश अस्पताल आउने गरेका छन् । अस्पतालमा बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, छालारोग विषेशज्ञ लगायत विभिन्न एक दजर्न भन्दा बढी विषेशज्ञ डाक्टरहरु रहेका छन् ।
अस्पतालले धेरै सेवा सुविधा थप गरेको कुरा जिल्लाबासीलाई निकै राम्रो भएपनि फार्मेसीमा आवयश्यकता पर्याप्त औषधी तथा अस्पतालको ब्लड बैंकमा पर्याप्त मात्रामा रगत उपलब्ध गराउनुपर्ने लगायतका कुराहरुमा थप सुधार गर्नुपर्ने स्थानीयको माग रहेको छ ।









