नगरसभाबाट साँढे ७८ करोड, बजेटसहित ४४ वटा निर्णय स्वीकृत

-


     नयाँ दीप    
     असार २२ गते २०८२ मा प्रकाशित


बेसीशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ७८ करोड ४८ लाख ७० हजारको बजेट स्वीकृत गरेको छ । नगरपालिकाको आइतबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनले यतिका बजेटसहित योजना, नीति र कार्यक्रम स्वीकृत गरेको हो ।

नगरसभामा उप–प्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरीय योजना प्रस्तुत गर्दै चालुतर्फ ४७ करोड ९० लाख र पुँजीगततर्फ ३० करोड ५८ लाख ७० हजार बजेट विनियोजित गर्नुभएकोमा नगरसभाले पारित गरेको हो ।
a
उपप्रमुख गुरुङले प्रस्तुत बजेटमा राजश्वका विभिन्न शीर्षकबाट २२ करोड ५९ लाख एक हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५५ करोड ८९ लाख ६९ हजार आय हुने अनुमान गर्दै ७८ करोड ४८ लाख ७० हजारको बजेट प्रस्तुत गर्नु भएकोमा नगरसभाले स्वीकृत गरेको हो ।

उपप्रमुख गुरुङले प्रस्तुत गर्नुभएको योजनामा आर्थिक विकास तर्फ दुईं करोड ८९ लाख ८० हजार, सामाजिक विकास तर्फ तीन करोड ३९ लाख ३२ हजार, भौतिक पूर्वाधार तर्फ सात करोड ९५ लाख ५८ हजार, वन वातावरण विपद् व्यवस्थापन तर्फ ५७ लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासन १५ करोड ३६ लाख बजेट विनियोजित गरिएको छ ।

बजेटमा नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ३० करोड १७ लाख ७० हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि सात करोड २५ लाख र नगपालिका निशर्त तर्फको ३७ करोड ४२ लाख ७० हजार बजेट विनियोजित गरिएको छ ।

नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षमा भएको कार्यक्रममा नगरप्रमुख अर्यालले निर्णयका लागि प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम, योजना र बजेट, बेसीशहर नगरपालिकाको विनियोजन विधेयक २०८२, कार्यपालिकाले गरेका निर्णयलगायत ४४ वटा निर्णयहरु नगरसभाले सर्वसम्वत रुपमा पारित गरेको छ ।

नीति, कार्यक्रम, योजना र बजेट पारित भएसँगै नगरप्रमुख गुमानसिंह अर्यालले सम्बोधन गर्दै आवश्यकता र प्रथामिकताका आधारमाविना भेद्भाव, पक्षपात रहितरुपमा नगरको समृद्धिका लागि नीति, कार्यक्रम, योजना र बजेट प्रस्तुत भई पारित गरिएको बताउनुभयो । नगरप्रमुख अर्यालले प्रत्येक बर्ष केन्द्रबाट बजेट कटौती गरिएकोले नगरबासीको अपेक्षाअनुसार योजना निर्माण गर्न नसकिएको नगरसभामा जानकारी गराउनुभएको थियो ।

नगरसभामा उपप्रमुख गुरुङले प्रस्तुत गर्नुभएको बजेटमाथि वडा नम्बर ८ का वडा अध्यक्ष पवित्रा थापा, ११ का वडा अध्यक्ष शिवप्रसाद जोशी, वडा नम्बर २ का अध्यक्ष मदनबहादुर राना, वडा सदस्य कृष्ण भुजेललगायतका वडा सदस्यले टिप्पणीसहित सुझाव राख्नुभएको थियो ।

नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रममा प्रमुख प्रशासकीय चेतनाथ अर्याल, वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य एवं नगरपालिकाका शाखा प्रमुखलगायतको उपस्थिति रहेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो । नगरसभा यसअघि असार ९ गते शुरु भई आइतबार सम्पन्न भएको हो ।