
लमजुङको राइनासमा अपाङ्गता भएका ५३ जनालाई सहायता सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोग र ग्रामीण अपाङ्ग समाज नेपाल राइनासको समन्वयमा शनिबार सहायता सामग्री सहयोग गरिएको हो ।
राइनास–८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, सामाजिक विकास कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा, नेपाल पत्रकार महासंघ लमजुङका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल नेत्रज्योति संघका लमजुङ तथा गोरखाका क्षेत्र अधिकृत प्रेम महर्जनले लगायतले सहायता सामाग्री वितरण गर्नुभएको थियो ।
अपाङ्गता भएका व्यक्तिको माग बमोजिम ह्विलचियर ७ वटा, सहयोगी लौरी ९ वटा, बैसाखी चार, एयरफोन १६, वाकर एक वटा र सेतो छडी १६ वटा वितरण गरिएको ग्रामीण अपाङ्ग समाज नेपालका अध्यक्ष प्रकाश चिलुवालले बताउनुभयो ।
ग्रामीण अपाङ्ग समाज नेपालका अध्यक्ष प्रकाश चिलुवालको अध्यक्षतामा भएको सहायता सामग्री वितरण कार्यक्रममा राइनास–८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, सामाजिक विकास कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा, नेपाल पत्रकार महासंघ लमजुङका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल नेत्रज्योति संघका लमजुङ तथा गोरखाका क्षेत्र अधिकृत प्रेम महर्जन, बीरभक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक नूर मोहम्मद मियाँ लगायतले मन्तब्य व्यक्त गर्दै अपाङ्गताको सवालमा सरकारी, गैरसरकारी र समुदाय मिलेर काम गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा लमजुङ नेत्रहिन संघ लमजुङका अध्यक्ष राजेन्द्र घिमिरेले अपाङ्गता भएकाहरुलाई सम्बोधन गर्दा प्रयोग गर्नुपर्ने बिषय समेटिएको भिडियो सामाग्री प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लमजुङ नेत्रहिन संघ लमजुङका सचिव विष्णु पोखरेलले स्वागत गर्नुभएको थियो ।
एविलिज फाउण्डेसनको आर्थिक सहयोग तथा सामाजिक विकास कार्यालय लमजुङ र ग्रामीण अपाङ्ग समाज नेपाल राइनासको समन्वयमा शनिबार र आईतबार समावेशी बिकास, अपाङ्गगता भएकाहरुको स्थानीय साधानस्रोतमा पहुँच लगायतका विषयमा तालिमको समेत आयोजना गरिएको छ ।
शनिबार भएको तालिममा लमजुङ नेत्रहिन संघ लमजुङका अध्यक्ष राजेन्द्र घिमिरेले स्थानीय बजेट निर्माणका सात वटा चरण, क्षेत्र अधिकृत प्रेम महर्जनले समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम र नेत्रहिन संघ लमजुङका सचिव विष्णु पोखरेलले अपाङ्गता सञ्जाल र अपाङ समन्वय समितिबीचको अन्तर सम्बन्धका बारेमा सहजीरण गर्नुभएको थियो ।









