
आज १५ असार २२ औँ राष्ट्रिय धान दिवस लमजुङको बेसीशहरमा धान रोपाई महोत्सव गरी मनाइको छ । धान “बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने” नाराका साथ लमजुङ बेसीशहरको दनाई फाँटमा रोपाई गरी धान दिवस मनाइएको हो ।
रोपाई महोत्सव कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको प्रमुख आतित्थ्यथामा तथा कर्पुरेश्वर आमा समूहका अध्यक्ष कल्पना दनाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्याल, डियसपी रेशम बोहरा, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, लगायत प्रहरी, कर्मचारी, जनप्रतिनीधी, पत्रकार, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

बेसीशहर नगरपालिका, कषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आयोजना र कर्पुरेश्वर सामुदायिक महिला समूहको बेसीशहर ८ को व्यवस्थापकमा रोपाई महोत्सवको कार्यक्रम भएको हो ।
आजको दिन हर्षोल्लासका साथ खेतबारीमा हरियो बनाउँदै किसानहरू रोपाइँको रमाइलोमा व्यस्त छन् भने सहरका मानिसहरू समेत “दहीचिउरा खाने दिन” को रूपमा मनाउने गर्दछन् ।

आजको दिनले कृषिमा आत्मनिर्भरता, सांस्कृतिक पहिचान र सामाजिक एकता जस्तै आदर्शलाई एकै साथ जोडेको छ। युवा, किसान, र शहरी सबैले मिलेर धान रोपाइँ गर्ने र दहीचिउरा खाने परम्पराले नेपाली जीवनशैली झल्काउँदा, नेपालले आफ्नो पहिचान कृषि राष्ट्रको रूपमा अझ प्रगाढ बनाएको छ ।

परम्परागत रूपमा आज खेतमा रोपाइँ गर्ने हिलो छ्यापछाप गरी रमाई फोटो भिडियोे टिकटक बनाउने प्रचलन बढ्दै गएको छ । आज असार १५ दिनमा दहीचिउरा खाँदा शक्ति र स्वास्थ्यका लागि यो भोजनलाई शुभ र पोषण प्राप्त हुने मानिन्छ ।
जिल्लामा कुल ९ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ भने भने गतवर्ष लगभग ३१ हजार १ सय ५८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताउनुभयो ।
लमजुङमा विषेशगरी हाइब्रिडमा सावित्री, रामधान, सुनौलो सुगन्ध, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, यूएस–३१२, लोकनाथ, गोरखनाथ, लोकतन्त्र धान रोपिन्छ भने स्थानीय लोकल जातमा जेठोबुढो, एक्ले लगायतको जातहरूको धान रोप्ने गरिन्छ ।












