
लमजुङको बेसीशहर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट पेश गरिएको छ । नगरपालिकाको सोमवार बेसीशहरमा भएको नगरसभा तथा १७ औँ अधिवेशनमा उपप्रमुख पद्मा गुरुङले आ.व. २०८२\०८३ को नीति, कार्यक्रम तथा बजेट बजेट पेश गर्नुभएको हो ।
प्रस्तुत बजेटको चालु तर्फ ४७ करोड ८१ लाख (६३.३४ प्रतिशत) र पुँजीगत तर्फ २७ करोड ६७ लाख २० हजार (३६.६६ प्रतिशत) रहेको छ । यो बजेट चालु आर्थिक वर्ष २०८१\०८२ को भन्दा एक करोड ४७ लाख ३३ हजार रुपैयाँ कम रहेको छ ।
प्रस्तुत गरिएको बजेटमा खर्च व्यहोर्ने स्रोतहरुमा संघीय समानीकरण अनुदानबाट १३ करोड आठ लाख, संघीय राजश्वबाट १० करोड सात लाख, आन्तरिक आय तथा स्थानीय राजश्वबाट आठ करोड पाँच लाख ६५ हजार, प्रदेश सरकारबाट चार करोड २१ लाख ५५ हजार, संघीय समपूरक विशेष अनुदान तथा अन्यबाट ३ करोड २९ लाख रहने प्रक्षेपण गरिएको छ ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालको अध्यक्षता तथा सञ्चालनमा भएको नगरसभामा चालु वर्षमा भएका उपलब्धिका बारेमा समेत उपप्रमुख गुरुङले जानकारी गराउनुभएको थियो । चालु वर्षमा कुल पाँच सय ५३ वटा योजना रहेकोमा पाँच सय छ वटा सम्पन्न भएको छ ।
चालु बर्षमा मात्र एक सय ५० जनालाई स्वरोजगामूलक तालिम प्रदान गरिएको, चालु बर्षमा ९५ बर्षका जेष्ठ नागरिक र जेष्ठ नागरिक, दीर्घरोगी तथा अपाङ्गता भएका व्यक्तिहरुको सेवामा समर्पित भएका ५० जना परिवारका सदस्यलाई सम्मान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालु बर्षमा न्यायिक समितिमार्फत ४५ उजुरीमध्ये २१ वटा उजुरी फस्र्योट भएको उल्लेख गरिएको छ । बैदेशिक रोजगारी गएर ठगि, मृत्यु तथा क्षतिपुर्ति र स्वास्थ्य उपचार वापत पाउनु पर्ने रकम एक करोड चार लाख ८० हजार आप्रवासी स्रोत केन्द्रको पहलमा पीडितलाई उपलब्ध गराईएको उपप्रमुख पद्मा गुरुङले जानकारी गराउनुभयो ।

कृषि, पशुसेवा, स्वास्थ्य, शिक्षा, स्वरोजगार, पर्यटन, महिला, बालवालिका, जेष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम चालु वर्षमा प्रभावकारी भएकोले आगामी वर्षमा पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
नीति, कार्यक्रम, योजना र बजेट प्रस्तुत कार्यक्रममा सभाका अध्यक्ष एवं नगरप्रमुख गुमानसिंह अर्यालले सम्बोधन गर्दै आवश्यकता र प्रथामिकताका आधारमाबिना भेद्भाव, पक्षपात रहितरुपमा नगरको समृद्धिका लागि नीति, कार्यक्रम, योजना र बजेट प्रस्तुत गरिएको बताउनुभयो । नगरप्रमुख अर्यालले केन्द्रबाट पटक पटक बजेट कटौती गरिएकोले नगरबासीको अपेक्षाअनुसार योजना निर्माण गर्न नसकिएको नगरसभामा जानकारी गराउनुभएको थियो ।
नगरसभामा प्रमुख प्रशासकीय चेतनाथ अर्यालले आर्थिक बर्ष २०८०\०८१ को लेखा परीक्षण प्रतिवेदनका बारेमा र नगर प्रवक्ता एवं विधायन समितिका संयोजक हिरालाल विश्वकर्माले प्रस्तावित कानूनहरु पेश गर्नुभएको थियो ।
नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण पश्चाप वडा नम्बर २ का अध्यक्ष मदन राना, वडा नम्बर ११ का वडा अध्यक्ष शिवप्रसाद जोशी, कार्यपालिका सदस्य एवं नगरप्रवक्ता हिरालाल विश्वकर्मा लगायत वडा सदस्यहरुले विभिन्न सुझाब राख्नु भएको थियो ।
नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रममा प्रमुख प्रशासकीय चेतनाथ अर्याल, वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य एवं नगरपालिकाका शाखा प्रमुख, कर्मचारीलगायतको उपस्थिति रहेको रहेको थियो । सोमवार शुरु भएको नगरसभाको अर्को बैठक यही असार २२ गते आयोजना गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।









