आत्महत्या रोकथामको लागि सञ्चार सीपको महत्व

-


     सृजन बराल     
     असार ४ गते २०८२ मा प्रकाशित


लमजुङ जिल्लाको बेसीशहरमा सञ्चारकर्मीहरूलाई लक्षित गरी आत्महत्या रोकथाममा सञ्चार माध्यम र सञ्चारकर्मीको जिम्मेवारी र भूमिका विषयक अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम परियोजना (कोशिश नेपाल) को आयोजना तथा नेपाल पत्रकार महासंघ लमजुङको समन्वयमा बुधवार आत्महत्या रोकथाममा मिडियाको भूमिकाबारे अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम परियोजनाका कार्यक्रम अधिकृत महेन्द्र आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आचार्यका अनुसार आत्महत्या रोकथाममा सञ्चार माध्यमको भूमिका निर्णायक हुन सक्ने भएकाले मिडियाले संवेदनशील र तथ्यपरक ढंगले समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

नेपाल प्रहरीको तत्थ्याङ अनुसार आर्थिक वर्ष २०८०⁄८१ मा मात्रै ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका छन् भने गण्डकी प्रदेशमा मात्रै ६ सय ५७ जनाले आत्महत्या गरेको तत्थ्याङ सार्वजनिक भएको थियो । विश्वभरीमा बार्षिक ७ लाख मानिसहरुको आत्महत्याको कारण मृत्यु हुने गरेको छ भने विश्वमा हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्ने गरेको विश्व तत्थ्याङ्कले देखाउने कार्यक्रममा बताइएको थियो ।

स्वास्थ्य, जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा बातावरिणय पक्ष, आन्तरिक तथा बाह्य बसाईसराई, बैदेशिक रोजगारी लगायतका कारणहरुले आत्महत्याका घटनाहरु बढेको बताईएको छ । त्यसका साथै मानिसिक रोग, मानसिक तनाव, प्रेममा असफलता, आर्थिक समस्या, दिर्घ रोग, लागुपदार्थ सेवनको प्रभाव, मादक पदार्थ सेवन, शारीरिक अपाङ्गता, अनैतिक सम्वन्ध तथा बेरोजगारी समस्याका कारणहरुले पनि आत्महत्या गर्ने गरेको पाईएको कार्यक्रममा बताइएको छ ।

यसका रोकथामका लागि नेपाल सरकारले अझै सशक्त रुपमा कार्यक्रम ल्याउन पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, भाईचाराको विकास, सामुहिक भावनाको विकास, स्थीतिको विश्लेषण, बहुक्षेत्रीय सहकार्य, वित्तिय व्यवस्था, जनचेतना अभिवृद्धी, अनुगमन मूल्याङ्कम तथा निगरानी लगायत मुख्य स्तम्भहरु रहेको बताइएको छ ।

कार्यक्रममा कोसिस नेपालका लमजुङ–गोरखा परियोजना संयोजक आचार्यले आत्महत्याको वर्तमान अवस्था, त्यसका कारण, जोखिममा रहेका व्यक्ति तथा आत्महत्या र आत्महानी सम्बन्धी संकेतबारे जानकारी दिनुका साथै, कोशिश नेपालले सञ्चालन गर्दै आएका गतिविधिबारे समेत सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तैगरी कार्यक्रममा मनोविद् विजय राईले आत्महत्या रोकथामका प्रमुख रणनीति प्रस्तुत गर्दै सञ्चारकर्मीले आत्महत्या सम्बन्धी समाचार प्रकाशन–प्रसारण गर्दा कुन शब्द प्रयोग गर्ने, कुन शैलीमा प्रस्तुत गर्ने भन्ने कुरामा अत्यन्त ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

“आत्महत्या जस्तो संवेदनशील विषयमा गलत समाचार प्रवाहले जोखिम बढ्न सक्छ, त्यसैले जिम्मेवार सञ्चारले जोखिममा रहेका व्यक्तिहरूको जीवन बचाउने काम समेत गर्न सक्छ,” मनोविद् राइले बताउनुभयोे।

कार्यक्रममा आत्महत्या रोकथामको लागि सञ्चारकर्मीले संवेदनशीलता अपनाउनुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने सूचना प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो ।