
बानेश्वरमा झरि परेपछि ।
यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । बङ्गालको खाडीको धेरैजसो भाग, श्रीलङ्का पूरै र भारतको केरलामा मनसुन विकसित भइसकेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।
उहाँका अनुसार केरलाबाट नेपालको कोशी प्रदेशमा आइपुग्न एक हप्ता हाराहारी लाग्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिकन आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने देखिन्छ ।
यस वर्ष औषतभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले यसअघि नै प्रक्षेपण गरिसकेको छ । मनसुनमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण सार्वजनिक भएसँगै खेतीपाती राम्रो हुने आशा बढेको छ । तर वर्षा र तापक्रम बढ्दैमा खेतीपाती राम्रो हुन्छ भन्ने नरहेको विज्ञहरूले बताएका छन् ।
औसतभन्दा बढी पानी परेर खाल्डाखुल्डीमा पानी जम्ने र पानी रोकिएसँगै बढ्ने तापक्रमका कारण ती खाल्डाखुल्डी डेङ्गी उत्पादन गर्ने उद्योगका रूपमा परिणत हुन सक्छन् ।
यसपालि उत्तरी क्षेत्र अर्थात् उच्च भूभागमा पनि औसतभन्दा धेरै पानी पर्ने र तापक्रम बढ्ने अनुमान छ । यसले माटो बगाएर ल्याउने, नदी थुनिने र फेरि फुट्ने, नदी थुनिँदा त्यसले ठूलो तालकाे रूप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने डा. उप्रेतीको भनाइ छ ।









