सूचनाको हक कार्यान्वयनमा देखिएका चुनौतीबारे अन्तरक्रिया

-


     नयाँ दीप    
     जेठ ८ गते २०८२ मा प्रकाशित


सूचनाको हक कार्यान्वयनको अवस्था र यसमा देखा परेका चुनौतीबारे सम्वाद गर्न लमजुङको सदरमुकाम बेसीशहरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले सूचनाको हकलाई संवैधानिक मौलिक अधिकारको रूपमा व्याख्या गर्दै सार्वजनिक निकायहरूले सूचनाको प्रवाहमा कुनै ढिलासुस्ती नगर्नुपर्नेमा जोड दिए। “सूचनाको अभावले सेवा प्रवाहमा अपारदर्शिता र भ्रष्टाचार बढाउँछ,” उनले भने, “त्यसैले सूचना प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक छ।”

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण केसीले नीतिगत व्यवस्था भए पनि सूचनाको पहुँच र कार्यान्वयन सन्तोषजनक नभएको टिप्पणी गरे। उनले समाचार, सूचना र विज्ञापनबीचको अन्तर प्रस्ट बुझिनु आवश्यक रहेको उल्लेख गर्दै सर्वसाधारणको सूचना पहुँचमा सुधार ल्याउनुपर्ने धारणा व्यक्त गरे।

महासंघ लमजुङका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारीले अधिकांश कार्यालयमा सूचना अधिकारी तोकिए पनि अधिकारको प्रयोग गर्न नसकेको भन्दै व्यावहारिक कार्यान्वयनमा सुधारको खाँचो औंल्याए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विज्ञान पौडेलले सूचना प्रवाह एक व्यक्तिको मात्र जिम्मेवारी नभएको बताउँदै मागअनुसार सूचना उपलब्ध गराउने कानुनी व्यवस्था भए पनि समयमै उपलब्ध गराउन स्रोत र व्यवस्थापनको अभाव देखिएको बताए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमनसिँह गौतमले ‘सूचनाको हक सम्बन्धी कानुनी अवस्था, कार्यान्वयनका चुनौती र जटिलता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।उनको प्रस्तुतीमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नविनराज कुईकेल र जिल्ला समन्वय अधिकारी रोशन अर्यालले टिप्पणी राखेका थिए ।

कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बसन्ता भट्ट बानियाले र सहजीकरण सचिव कृष्ण आलेले गरेका हुन् ।

अन्तरक्रियाबाट सरकारी कार्यालयमा सूचना प्रवाहलाई प्रभावकारी बनाउने, सूचना अधिकारीहरूको भूमिका सशक्त बनाउने तथा पारदर्शी र नागरिकमैत्री प्रशासन निर्माणतर्फ ठोस सुझावहरू अघि सारिएको पत्रकार महासंघ लमजुङ शाखाले जनाएको छ।