
जिल्ला प्रहरी कार्यालय लमजुङले गैरकानुनी हातहतियार १ सय १२ थान बरामद गरेको छ । बरामद गरिएका हतियारमा एकनाले भरुवा बन्दुक, दुईनाले भरुवा बन्दुक र बारबोर हर्नेट रहेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय परिसरमा बरामद गरिएका उक्त हतियार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
५ वर्षसम्म लगातार नवीकरण नगरेका हतियार स्वतः गैरकानुनी मानिने हुँदा यस्ता हतियार बुझाउन सूचना जारी गरिएको थियो । कतिपयले हामीलाई सूचना गरेर बुझाए भने कतिपय हतियार हामीले नै बरामद गरेको प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताउनुले भयो ।
यतिका धेरै हतियार संकलन गर्नमा लमजुङका राजनीतिकर्मी, सञ्चारमाध्यमको ठूलो भूमिका रहेको प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङले बताउनु भयो । इजाजत प्राप्त हतियार पनि प्रहरीको निगरानीमा रहेका र १५ सय जति हतियार अझै व्यक्तिसँग रहेको सूचना प्राप्त भएको छ । ती मध्ये ७६४ वटा अपडेट भएका छन् भने २१९ वटा तुरुन्त नियन्त्रण गर्नुपर्ने अवस्थामा रहेका प्रजिअ गुरुङको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले २०७९ असार मशान्तसम्म इजाजत नलिएका हतियार बुझाउन अन्तिम सूचना जारी गरेको थियो । त्यस बेलासम्म नबुझाएका हतियार सबै अवैध भएको प्रनाउ श्रीवास्तवको भनाई छ ।
यही एक महिना भित्र ११२ वटा हतियार बरामद गरिएको हो । जसमध्ये धेरै जसो काम नगर्ने अवस्थामा पुगेका छन् भने कतिपय गोली बारुद भरेकै अवस्थाबाट बरामद गरिएको श्रीवास्तवले जानकारी दिनु भयो ।