त्रिवेणी कप फुटवल प्रतियोगगिताको पुरस्कार राशीमा ४ लाख रुपैया थप

-


     सृजना बराल    
     मंसिर १५ गते २०८१ मा प्रकाशित


यसवर्ष हुने त्रिवेणी कप फुटवल प्रतियोगगितामा पुरस्कार राशीमा गतवर्ष बर्ष भन्दा ४ लाख रुपैया थप गरिएको छ । आयोजक त्रिवेणी युवा क्लवले बेंसीशहरमा शनिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिताबारे यस्तो जानकारी गराएको हो ।

आगामी पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेंसीशहरमा हुने ३२ औं त्रिवेणी कप फुटवल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले गतवर्ष प्रथम पुरस्कार ८ लाख रुपैयाँ रहेकोमा यसवर्ष बढाएर १२ लाख रुपैयाँ पुराएको बताउनुभयो । प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २–२ लाख रुपैयाँ दिइने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५–२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।

क्वाटरफाइनलबाट आमन्त्रित टीम सहभागी हुने र यसमा विभागीयसमेतको नेपालका ‘ए’ डिभिजनका टीमहरु सहभागि हुने आयोजकले जनाएको छ । आयोजकले आमन्त्रित टीम व्यवस्थापनमा मात्रै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । फुवटल प्रतियोगितामा मात्रै ८४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । यसवर्ष फुटवल प्रतियोगितामा प्रवेश शुल्क निःशुल्क गरिएको छ ।

यसैगरी, त्रिवेणी क्लवले गुरुङ जातिको महानपर्व पुस १५ गते तमू ल्होसारका दिन बेंसीसहरको मनाङे चौतारामा त्रिवेणी साँझ आयोजना गर्ने भएको छ । यसमा फुड फेष्टिबल समेत हुने भएको छ । यसका लागि १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । फुटवल प्रतियोगिता र त्रिवेणी साँझ गरी कूल ९४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

क्लवका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा हाल गण्डकी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री रहेका भेषबहादुर पौडेललाई सम्मान गरिएको थियो । आफूलाई आजको दिन सम्ममा पुराउनको लागि त्रिवेणी युवाक्लवको ठूलो भूमिका रहेको भन्दै क्लवलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा पूर्वअध्यक्ष लोकेन्द्र गुरुङ, सिजन श्रेष्ठ, उपाध्यक्ष खुशीजङ गुरुङ र टेकजङ गुरुङ, कोषाध्यक्ष प्रकाश घले, नेपाल पत्रकार महासंघ लमजुङ शाखा उपाध्यक्ष अनुज अधिकारी लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन क्लवका सचिव प्रविन वाग्लेले गर्नुभएको थियो ।