
लमजुङको घनपोखरामा बाबुको छोरा झगडा गर्दा छोराको मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ६ बजे मर्स्याङदी गाउँपालिकाको वडा नंं २ प्रोबी गाउँका ५७ बर्षका सन्तबहादुर तामाङ र उनका छोरा २७ बर्षका सोमबहादुर तामाङविच झगडा पर्दा छोराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दुवै बाबुछोराले मदिरा सेवन गरी सामान्य भनाभन गरेका थिए । भनाभनकै क्रममा छोराले बाबु सन्तबहादुरलाई मुड्कीले हिर्काए । छोराले आफूमाथि मुड्की बजारेपछि बाबुचाहिँले हसियाँले छोरालाई प्रहार गरेका थिए । उनको प्रहारले छोरा सोमबहादुरको घाँटीमा लागेको थियो ।
हँसिया प्रहारबाट घाइते भएका सोमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल बेसीशहरमा राती ८ बजे ल्याइए पनि यहाँ उपचार हुन नसक्ने भनि भरतपुर अस्पतालमा रिफर गरिएको थियो । भरतपुर अस्पतालमा उपचारको क्रममा राती ३ बजे उनको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिए ।
घट्नामा संलग्न सन्तबहादुरलाई खुदी प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको छ ।