
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बदर गरेको हो ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो ।
एमालेका अधिकारीले मुख्यमन्त्रीमा ६० को बहुमत ३० हुने भन्दै सभामुख कृष्ण धितालले विश्वासको मत पाएको भनी गरेको निर्णयविरुद्ध कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।
सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए ।
अधिकारीको पक्षमा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ सांसदले मत दिएका थिए।