
गत बैशाख २८ गते देखि हराईरहेका लमजुङ बेसीशहर नगरपालिका वडा नं ६ तल्लो मकैडाडाँका २० बर्षिय हरिराम रिमाल मर्स्याङ्दी नदीमा मृत अबस्थामा फेला परेका छन् । सोमबार दिउसो अन्दाजी ४ः३० बजे तिर बेलौती बिसौना नजिकै रहेको मर्स्याङ्दी नदीको बिच भागमा मृत शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए ।
खबर पाए लगतै जिल्ला प्रहरीको टोली त्यस स्थानमा गएको डुङ्गाको माध्यमबाट शबको उद्दार गरी किनारामा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभएको छ । सोही स्थानबाट ११ दिन अघिदेखि मानिस हराएको सूचनाको आधारमा खोजी भैरहेको थियो । प्रहरी शब फेला परेको खबर पाए पनि रिमालका आफन्त आएको र कपडाको आधारमा पहिचान गरी आफन्तले शबको सनाखत गरेको प्रहरीले जनाएको छ ।
गत बैशाख २८ गते राती १० बजे घरबाट बडागाउँमा रहेकी पे्रमिका भेट्न जानेभन्दै सुटुक्क हिडेका रिमाललाई वडागाउँमा सबै घरमा बुझ्दा उनी त्यहाँ कतै नपुगेको बताइएको छ । बडागाउँ जाने बेलौती विसौनीको पुलको मुख सम्म साथी लिएर गएका रिमालले भोली विहान छिट्टै आउँछु भनेर साथीलाई फिर्ता पठाएको पारिवारिक स्रोत बताएको छ । त्यो समय देखि नै कहि कतै पनि सम्पर्कमा नआएका रिमाल ११ दिन पछि सोमबार मृत अवस्थामा भेटिएका हुन् ।
बाहिरी शरीरमा हेर्दा सामान्य देखिएको भएपनि उनको हत्या भएको हो वा आफै आत्महत्या गरेका हुन् भन्ने कुरामा अनुसन्धान भैरहेकोे प्रहरीले जनाएको छ । शबलाई जिल्ला अस्पताल बेशिसहरमा राखिएको र भोली पोष्ट मार्टम पश्चात परिवारलाई बुझाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।