बेसीशहरको फ्रेस हाउसमा कुहिएको मासु

-


     नयाँ दीप    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित


लमजुङको बेसीशहरका ३ वटा मासु पसलमा कुहिएका मासु फेला परेका छन् । सोमबार बेसीशहर बजारका फ्रेस हाउसमा अनुगमन गर्दा यस्तो फेला परेको हो ।

बजार क्षेत्रका ११ वटा मासु पसलको अनुगमन गर्दा त्रिवेणी टोलमा रहेको सगुन संगम इन्टरप्राइजेज, झिङ्गे खोलामा रहेको डि.के सप्लायर्स र मिलापको बङ्गुर फ्रेस हाउसमा फ्रिजमा राखेको मासु लामो समयसम्म राखेकोले सडेको, सरसफाइ नदेखिएको मासु काट्दा एप्रोनको प्रयोग नगरेको भन्दै आवश्यक निर्देशन सहित प्रतिव्यक्ति ५ हजार रुपैया जरिवाना लगाइएको जिल्ला प्रशासनका खरिदार दिननाथ अधिकारीले बताउनुभयो ।

लमजुङ जिल्ला स्थितका सम्पूर्ण व्यवसाय कानुनी रुपमा दर्ता प्रकृया गएर मात्रै सचालन गरी खाद्य स्वच्छता, गुणस्तर, सरसफाईमा विषेश ध्यान दिन आग्रह गर्दै आगामी दिनमा प्रशासनले हप्तामा १ दिन अनिवार्य बजार अनुगमन गरिने अनुगमनका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनुभयो । नागरिकका जनगुनासो बमोजिम कहाँ कुन क्षेत्र अनुगमन गर्नु पर्न हो सोही जनभावना अनुसार जिल्लाका सबै स्थानीय तहका सबै क्षेत्रमा बजार अनुगमन गरिने सुयलको भनाई छ ।

बजार अनुगमनमा जिल्ला प्रशासन, पर्यटन तथा उधोग कार्यालय, लमजुङ अस्पताल, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, उधोग वाणिज्य संघ र पत्रकार लगायतको उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङले २०८० असोज देखि हालसम्म २० औ पटक बजार अनुगमन गरेको हो ।