दोर्दीमा भएको निःशुल्क आँखा शिविरमा करिव १२ सय जनाको उपचार

-


     नयाँ दीप    
     चैत्र ३ गते २०८० मा प्रकाशित


लमजुङको दोर्दी गाउँ पालिकामा भएको निःशुल्क आँखा शिविरमा करिब ११ सय ९४ जनाले उपचार गराएका छन् । यहि चैत १ गते देखि सुरु शिविर दोर्दी गाउँपालिका र शान्ति मिलन युवा क्लव नौथर शेराको आयोजना, नेपाल आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोग र मुटु फाउन्डेसन काठमाडौंको सहयोगमा भएको हो ।

शिविर शनिबार सम्म सञ्चालन हुने भनिए पनि अत्याधिक मात्रामा विरामी आए पछि चैत ४ गते आइतबार सम्म सञ्चालन हुने भएको छ ।

शिविरमा उपचारका लागि आएका मध्ये पहिलो दिन ३५ जना, दोस्रो दिन ४८ जना, तेस्रो दिन शनिबार ४० जनाको शल्यक्रिया गरिएको छ भने आइतबार बाँकी रहेका ३६ जनाको शल्यक्रिया गरिने भएको छ ।

शिविर अवधिभर जम्मा १ सय ५९ जनाको मोतिया विन्दुको शल्यक्रिया र बाँकीलाई औषधी, पावरवाला चस्मा लगायतका सबै निशुल्क प्रदान गरिएको छ ।

शल्यक्रिया गरी उपचार गर्ने विरामीहरुलाई निशुल्क रुपमा खाना र बस्नको लागि समेत व्यवस्था मिलाइएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

पालिकामा कुनै सुविधा युक्त अस्पताल नभएकोले आफ्नै घर आगनमा सेवा दिन सकियो भने समुदायको हित हुनुका साथै ठूलो रकम समेत खर्च हुनबाट जोगिने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बताउनुभयो ।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर,काठमाडौका मेडिकल डाइरेक्टर तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.कमल बहादुर खड्काको नेतृत्वमा रहेको टीमले सेवा प्रदान गरेको थियो ।

शिविरमा आँखा जाँच गराउन दोर्दी गाउँपालिकाका विभिन्न वडाका साथै दूधपोखरी, सुन्दरबजार, बेसीशहरदेखिका नागरिकहरू नौथर शेरा पुगेका छन् । आफ्नै गाउँठाउँमा निशुल्क उपचार सेवा पाए पछि स्थानीयहरु निकै खुशी भएका छन् ।

दोर्दी गाउँपालिकाले पालिका भित्रका बासिन्दाहरु मध्ये अगं प्रत्यारोपण गरेका विरामीलाई बार्षिक १ लाख रुपैया दिने गरेको छ भने, सुत्केरीलाई यातायात खर्च, निशुल्क एम्बुलेन्स सेवा लगायतका स्वास्थ्य क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको छ ।