
अहिले देशभर मतदाता अद्यावधिक कार्यक्रम संचालन भैरहको छ । लमजुङका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार देशभर फागुन २८ देखि चैत्र २२ गतेसम्म मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको हो ।
निर्वाचन आयोगको परिपत्र अनुसार लमजुङमा पनि निर्धारित मितिमा मतदाता नामावली अद्यावधिक गरिने जिल्ला निर्वाचन अधिकारी सापकोटाले वताउनुभयो । यथार्थ विवरण संकलनका लागि अद्यावधिकको क्रममा मतदाता नामावलीमा भएको त्रुटी सच्याउने, निधन भईसकेका मतदाताको नाम हटाउने लगायतका काम हुनेछ । त्यसैगरी दोहोरो नाम भएमा हटाउने, यसअघि कसैले झुट्टा विवरण पेश गरी मतदाता नामावलीमा नाम दर्ता गरेको भएमा सोहि अवधीमा उजुरी समेत गर्न पाईने छ ।
निर्वाचन कार्यालयका अनुसार हाल कायम भएका मतदाताहरुको नामावली आयोगका वेवसाइटमा फागुनको २८ गते सार्वजनिक गरिएको छ । सोही नामावलीको आधारमा मतदाताले कुनै त्रुटि भएमा वा झुट्टा नामावली पेश भएको भएमा, दोहोरो नामावली भएमा २९ गते देखि चैत्र ५ गतेसम्म अनलाईन वा निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जनाएको छ । कसैले नेपाली नागरिकता त्याग गरेको भएमा वा मतदाताको मृत्यु भएको खण्डमा पनि सोहि मितिमा निर्वाचन कार्यालय वा अनलाईन मार्फत सुचना दिन सक्ने छन् ।
उजुरी परेको खण्डमा चैत्र ६ गते देखि ८ गतेसम्म सफाईको मौका दिइने र चैत्र ९ गतेदेखि १२ गतेसम्म मतदाता नामावलीबाट नाम हटाउने सम्वन्धमा छानविन गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्चाउने, नाम हटाउने लगायतका कानुन बमोजिमका काम गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चैत्र १२ देखि १५ सम्म नाम हटाएको वा त्रुटि सच्चाएको बारेमा जिल्ला निर्वाचन कार्यालय र वडा कार्यालयमा सुचना प्रकाशन गर्ने र फरक फरक जिल्लामा दोहोरो नाम परेको सन्दर्भमा निवेदन प्राप्त भए सो बारेमा छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक गराई आयोगमा पठाउने भएको छ । चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन कार्यालय प्रमुख सापकोटाले वताउनुभयो ।