पानी नपर्दा किसान पीडित, हिउँदे बाली उत्पादन ह्वात्तै घटेको गुनासो

-


     नयाँ दीप    
     फागुन १४ गते २०८० मा प्रकाशित


यो वर्षको हिउँदे वर्षा नहुँदा किसानले लगाएका बालीको उत्पादनमा ह्वात्तै घटेको छ । विगतका वर्षहरू आलु, काउली, बन्दा, तोरी जति उत्पादन भएको थियो यो वर्ष त्यसको एक तिहाई मात्रै उत्पादन भएको सुन्दरबजार ९, भोटेओडारका किसान अमृता अधिकारीले बताउनु भयो ।

पोहोर साल यति नै जग्गामा लगाएको आलु आफुले खाएर पनि बेचेकी थिए यो वर्ष त आफैँलाई नपुग्ने भयो भन्दै हिउँदभरि पानी नै परेन, सुक्का माटो भएकोले आलु नफलेको अधिकारीले गुनासो पोख्नुभयो । ९ किलो आलु रोपेकोमा मुस्किलले एक बोरा मात्रै भयो, गत साल चार पाँच बोरा हुन्थ्यो ।

आफुले रोपेको आलु उम्रने वित्तिकै तुसारोले खाएर आलुका बोट सबै मरेर गए भन्नुहुन्छ भोटेओडार निवासी कुमारी तामाङ । पोहोर परार फले जस्तो तोरी पनि भएन तोरी राम्रो हुन पानी पर्नुपर्छ पानी नपरेकाले यस्तो भएको तामाङले बताउनु भयो ।
पहिला आफुले स्टेशनरी पसल सञ्चालन गर्दै आएकी थिए, व्यापार पनि हुन छाड्यो, आफ्नै जग्गामा खेती गरेर खाउँ भनेको अनेकथरिले कृषकलाई पनि मारमा पारेको छ भन्नुहुन्छ अधिकारी ।

लमजुङका सबै पालिकाले तोरीको विउ अनुदानमा दिएको थियो । जिल्लाका अधिकांश स्थानमा तोरी लगाइएको छ तर पानी नपर्दा तोरी गतिलो भएन । यसले आम किसानलाई मारमा पारेको छ । सबै ठाउँमा सिञ्चाई व्यवस्था पनि छैन । किसानले लगाएको बाली राम्रो फलेपनि बाँदर लगायत वन्यजन्तुले नष्ट गरिदिन्छ । किसानका समस्या समाधान गर्न राज्यले पनि ठोस योजना बनाउन सकेको देखिँदैन ।