गुणस्तरहीन र ग्रेड नमिलाई मोटरबाटो निर्माण गरेको स्थानीयको आरोप

-


     नयाँ दीप    
     फागुन ११ गते २०८० मा प्रकाशित


लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ ठाँटी पिपल–भञ्ज्याङ–सल्लाबोट मोटर बाटो निर्माणमा ठेकेदार कम्पनीले लापर्वाही गरेको स्थानीयवासीले बताएका छन् । उक्त मोटर बाटो निर्माणमा ग्रेड नमिलेको प्राविधिक दृष्टिकोणले गुणस्तरहीन भएको दोर्दी २ का वडा सदस्य दुतराज गुरुङले बताउनुभयो ।

सो बाटोको लागि संघिय सरकारको समपूरक बजेट मार्फत ८ करोड रकम विनियोजन भएको हो । रोयल जेभी निर्माण सेवा र आर निर्माण सेवाले ठेक्का लिएर काम गरेको उक्त मोटर बाटो २१ सय ७० मिटर ढलान गर्ने सम्झौता भएको दोर्दी २ का वडा अध्यक्ष गणेशबहादुर खत्रीले बताउनुभयो । ठाँटी, अलैँचे गाउँ आसपासका क्षेत्रमा भने सम्झौतामा उल्लेख भए अनुसार नै बनेको छ तर वन क्षेत्रमा मोड नमिलाइकन ढलान गरिएको छ । हामीले ताकेता लाउँदा लाउँदै, निगरानी गर्दागर्दै पनि लापर्वाही गरिदिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

बाटो ढलान गर्न पहिला नाली बनाउनु पर्ने हो बनाएको छैन, ढलान मापदण्ड नपुगेको र गुणस्तरहीन रहेको स्थानीय जीवन गुरुङले बताउनुभयो । यसैगरी सुरुमा ७ मिटर चौडाईको ढलान गर्ने सम्झौता भएको थियो । पछिल्लो सम्झौता अनुसार ५ मिटर गर्ने सहमति भएको हो तर धेरै जसो ठाउँमा ४ मिटर मात्रै ढलान गरिएको छ । मानव वस्ती आसपास सम्झौता अनुसार काम भएको देखिए पनि जंगल क्षेत्रमा लापर्वाही गरेको वडा सदस्य गुरुङको दावी छ ।

सो सडक निर्माण कार्य हालसम्म ७० प्रतिशत काम भएको छ । जसमा सुरुको खण्ड मापदण्ड मिलेको तर अन्य खण्डमा बालुवाको मात्रा धेरै प्रयोग गरिएको बताइएको छ । साथै मोड नमिलाइएको, सम्झौतामा भए अनुसार ढलानको चौडाई पूरा नभएको स्थानीय रविन्द्र अधिकारीले बताउनुभयो । ढलान गरेपछि पर्याप्त मात्रामा पानी हाल्नुपर्नेमा कही नहालेको हुँदा ढलान अहिल्यै बालुवा जसरी बुरु बुरु उक्किरहेको अधिकारी बताउनु हुन्छ ।

ग्रेड नै नमिलेको सडक निर्माण भैरहनु ठेकेदारको भन्दा पनि प्राविधिकको गम्भीर लापरबाही भएको अधिकारीको भनाई छ । ७० प्रतिशत काम भैसकेको हुँदा अव सम्पन्न पश्चात प्राविधिकले कसरी पारित गर्ला त्यो हेर्न बाँकी रहेको स्थानीयवासीको भनाई छ ।