लमजुङ अस्पतालमा अचानक साइरन बजेपछि थेग्न नसकिने भिड

-


     नयाँ दीप    
     माघ २६ गते २०८० मा प्रकाशित


लमजुङ अस्पतालमा विहिवार विहानै ६.३० बजे अचानक साइरन बज्छ, साइरन बज्ने वित्तिकै अस्पतालका डाक्टर, स्टाफ नर्स, लगायत सबै स्वास्थ्यकर्मीहरू आ–आफ्नो युनिटको भागदौड सहित उच्च सतर्कता अपनाउँछन् । अस्पतालमा भएका विरामी, आफन्त र आसपासका मानिस पनि के भयो भनी उत्तिखेरै अस्पतालमा ठूलो भिड लाग्छ ।

यत्तिकैमा मस्र्याङ्दी गाउँपालिका खुदीबाट बेसीशहर आउँदै गरेको बस दुर्घटना हुँदा २०–२२ जना घाइते भएको कुरा अस्पताल प्रमुख डा विशाल तिवारीले जानकारी गराउनु हुन्छ । लगत्तै अस्पतालमा तीनवटा एम्बुलेन्स साइरन बजाउँदै घाइते बोकेर आइपुगे, इमर्जेन्सी वार्ड घाइते, स्वास्थ्यकर्मी र घाइतेका आफन्तले खचाखच भरियो ।

घेरै मानिस भएपछि इमर्जेन्सी वार्डको गेट बन्द गरियो । बाहिर प्रहरी बाक्लो उपस्थिति थियो । जनप्रतिनिधि, पत्रकार र आफन्तबाट आफ्ना मानिसलाई भेट्न पाउनु पर्ने र छिटो छरितो उपचार भए नभएको सम्पूर्ण जानकारी पाउनुपर्ने भनी ठूलो होहल्ला भयो । यतिबेलासम्म अस्पतालमा कोलाहल मच्चिसकेको थियो ।

तर उक्त दुर्घटना र घाइते भएको विषय सबै अभ्यास गराइएको थियो । वास्तविक रूपमा अचानक यस्तो विपद आइलागेका बेला अस्पतालका स्वास्थ्यकर्मी र जिल्लाको सुरक्षा निकायले कुशलतापूर्वक उद्दार, उपचार कसरी गर्न सक्छन् भन्ने कुराको परीक्षण लिनका लागि कृतिम दुर्घटना बनाइएको थियो । यति भैसक्दासम्म प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरिक्षक मिनबहादुर घले र अस्पताल प्रमुख डा विशाल तिवारीमै गोप्य थियो । पछि रहश्य खुलेपछि भने स्वास्थ्यकर्मीहरू र प्रहरी समेत आफ्नो भूमिका निर्वाह गर्न कृतिम अभ्यासमै जुटेको घटना कम रोचक थिएन ।

उक्त अभ्यासमा जिल्ला प्रहरी कार्यालयका १२ जना प्रहरी जवान घाइते बनेका थिए भने शसस्त्र प्रहरी बलबाट १० जना जवान घाइते बनेका थिए । २२ जना घाइते मध्ये एक जना मृत्यु भएको घोषणा र ३ जनालाई लमजुङ अस्पतालमा उपचार सम्भव नभएको भनी रिफर गरिएको थियो भने बाँकीलाई भर्ना गरिएको थियो ।

कृतिम दुर्घटना र उद्दार उपचार कार्यक्रम पछिको सामान्य औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो यस्ता कार्यक्रमले हाम्रा सबै युनिटलाई सदा सतर्कता साथ रहन र जिम्मेवारी बोध गराउने बताउनुभयो । सो कृतिम दुर्घटना र उपचारका विषयमा आफ्नो अस्पतालका सबै कर्मचारी कुशलतापूर्वक खटेको साच्किकै यस्तो घटना हुँदा पनि सहजै समाधान गर्ने क्षमता रहेको डा तिवारीले बताउनुभयो ।

यत्रो ठूलो कार्यक्रमका बारेमा आफुलाई कुनै जानकारी नै नभएको आजै अस्पतालको वार्षिकोत्सव भएकाले विहानै अस्पतालमा आउँदा सबैतिर कोलाहल मच्चिएको देख्दा आश्यर्चमा परेको अध्यक्ष हरिजंग तामाङले बताउनुभयो ।

जे होस् यस्ता कार्यक्रमले विपदका बेलामा आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने कुरामा थप क्षमता बढ्ने अध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रम लमजुङ अस्पतालको प्रथम वार्षिकोत्सवको अबसरलाई लक्षित गरेर गरिएको थियो ।

लमजुङ अस्पताल लमजुङको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ विहिवार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।