पुरानकोटमा २८ पिर्के रोटे पिङ निमार्ण

-


     नयाँ दीप    
     माघ २४ गते २०८० मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं. ४ पुरानकोटमा २८ पिर्के रोटे पिङ निमार्ण गरिएको छ । उक्त पिङको बुधवार एक कार्यक्रमका विच बेसीशहर नगपालिका प्रमुख गुमानसिहं अर्यालले उद्घाटन गर्नुभएको हो ।

पुरानकोटको स्थानीय बुद्ध मिलन समाजले तामाङ समुदायको विशेष पर्व २८६० औँ सोनाम ल्होसारको अवसरमा पुरानकोट फोस्रेमा परम्परागत २८ पिर्के रोटेपिङ निमार्ण गरेको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले परम्परागत रोटेपिङले गाउँघरमा रौनक हुनुका साथै आन्तरिक पर्यटन प्रर्वद्धन र संस्कृति संरक्षणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय अधिकांश युवाहरु विदेसिनुपर्ने बाध्यताले परम्परागत संस्कृति संरक्षण एवं पुस्तान्तरणमा समेत असर गरेको भन्दै उहाँले संस्कृति संरक्षणका लागि युवापुस्ताले विशेष चासो दिनुपर्ने बताउनुभयो ।

उक्त पिङ कुल ४ लाख ७५ हजार लागतमा निर्माण गरिएको वुद्ध मिलन समाजले जनाएको छ । पिङ निर्माणका लागी बेसीशहर नगरपालिकाले १ लाख ५० हजार, बेसीशहर ४ वडा कार्यालयले २० हजार रुपैया सहयोग गरेको छ । सो वाहेक अन्य रकम स्थानिय समुदाय, फोस्रे घर भई हाल स्वदेश तथा विदेशमा रहने स्थानीय, बिभिन्न स्थानका तामाङ समुदायका संघ संस्था तथा व्यक्तिहरुबाट प्राप्त सहयोगबाट पिङ निर्माण गरीएको कार्यक्रम संयोजक राजकुमार तामाङले बताउनुभयो । संभवत नेपालमै पहिलो पटक पुरानकोटको फोस्रेमा २८ पिर्के पिङ निर्माण गरिएको उहाँको दावी छ ।

पिङको माध्यमबाट मौलिक संस्कृति संरक्षण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, पुरानकोटको पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक लाइ पुरानकोट भित्राउने लक्ष्य राखीएको आयोजक बुद्ध मिलन समाज फोस्रेका अध्यक्ष देबमाया तामाङले बताउनुभयो ।

कार्यक्रममा लोक सम्राट बहुचर्चित लोक दोहोरी गायक राजु परियार, गायिका मिना लामा को बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङ, वडा अध्यक्ष गमबहादुर गुरुङ लगाएतले मन्त्व्य राख्नुभएको थियो
चाडपर्वको बेला प्राय गाउँहरुमा चारपिर्के रोटे पिङ राख्ने चलन छ पछिल्लो समय लमजुङकै मध्यनेपालमा २४ पिर्के पिङ निमार्ण गरिएको थियो भने २८ पिर्के पिङ विरलै देख्न सुन्न पाइन्छ ।