
लमजुङको क्होलासोथार गाउँपालिका वडा नम्बर २ मालिङ गाउँमा २०३० साल जेठ १७ गते जन्मनु भएका पार्वती तामाङ अहिले गण्डकी प्रदेशको सभा सदस्य हुुनुहुन्छ । २०७९ साल मंसिरमा भएको प्रदेश तथा संघिय चुनावमा नेपाली काग्रेंसबाट जनजाती कोटामा छनोट भएर समानुपातिक सासंदमा पर्नुभएको हो ।
गाउँमा नै सामान्य खेती किसानी गरेर जिवन निर्वाह गर्दै आउनुभएका तामाङ र उहाँको परिवार तत्कालिन सशस्त्र द्धन्द्धको बेला गाउँमा बस्न नसक्ने अवस्था भएर २०५९ सालमा गाउँ छोडर सदरमुकाम बेसीशहर झर्यो । सो मकैमराङ गाउँमा १७ घर तामाङको बस्ती थियो । द्धन्द्धले आत्तिएर करिव २ वर्षको अवधीमा गाउँमा भएका सबै सहरतिर झरेपछि गाउँ नै खाली भयो ।
गाउँमा रहँदा देखि नै सामाजिक काममा र पार्टीमा चासो लिएर कार्यक्रममा सहभागी हुने तामाङको सदरमुकाममा बसोबास गर्न थालेपछि नेपाली काग्रेस निकटका व्यक्तीहरुसगँ भेटघाट र कार्यक्रममा सहभागी हुने क्रम बढ्न थाल्यो ।
जव सशस्त्र द्धन्दको अन्त्य भई बार्ता भयो र देशमा शान्ति छायो त्यसपछि तामाङले पार्टीको क्रियाशिल सदस्यता लिनुभयो ।
तामाङ नेपाली काग्रेसको ११ औं महाधिवेसनमा पार्टीको भातृ संस्था महिला संघको क्षेत्रिय सदस्य र नेपाली काग्रेंसको क्षेत्र नं २ क्षेत्रिय सदस्यमा निर्वाचित हुनुभयो ।
उहाँको पार्टी प्रतिको लगाव निकै थियो त्यसको परिणाम स्वरुप काग्रेसको १२ औं महाधिवेसनमा जिल्ला सदस्यमा निर्वाचित हुनुभयो । त्यस्तै ०७२ सालमा भएको १३ औं अधिवेसनको निर्वाचनमा पनि महाधिवेसन प्रतिनिधी जितेर महासमिति सदस्य बन्न सफल हुनुभयो ।

पार्टीमा उहाँको क्रियाशितला बढ्दै गयो । बेसीशहरमा बस्दा लक्ष्मीनारायण पुस्तकालयको सदस्य, महिला उपसमितिको अध्यक्ष, महिलाहरुले संचालन गरेको लक्ष्मीनारायण सहकारीको स्थापनाकाल देखि विभिन्न पदमा रहँदै अध्यक्ष समेत बन्नुभएका तामाङले पढाई भने गाउँमा हुदाँ ९ कक्षा मा नै छोड्नुभएको थियो । विभिन्न संघ संस्थाको जिम्वेवारी पदमा रहँदा र आफ्ना साथी संगत पढेलेखेका भएकाले उहाँलाई फेरी पढ्ने इच्छा जाग्यो ।
“उमेर दिनप्रतिदिन बढ्दै थियो मलाई पढ्ने इच्छा पनि बढ्दै गयो” तामाङले भन्नुभयो । २०७३ सालमा उहाँले फेरी विद्यालय भर्ना भएर पढ्नुभयो र मेहनत गरेर पढी एसईई पास गर्नुभयो । “त्यसपछि झन् पढ्नुपर्ने रहेछ र महेनत गरे सफल भइन्छ भन्ने आत्मा विश्वास पनि बढ्यो र फेरी ११ कक्षामा भर्ना भई २ वर्ष पढेर प्लस टु पास गरे” तामाङले भन्नुभयो ।
विस्तारै तामाङले छोडेको गाउँ मकैमराङमा पनि जाउ आउ गर्न थाल्नुभयो । विस्तापित भई गाउँ नै खाली भएको गाउँमा फेरी केहि गर्नुपर्छ भनेर सबै गाउँलेहरुसगँ भेटघाट तथा छलफल गरी अघि बढ्ने कुरा भयो ।
करिव डेढ दशकसम्म सुनसान बनेको गाउँमा तामाङको समूह मिलेर सामुहिक बाख्रा पालन गर्न थालियो । एकातिर पढाईलाई निरन्तरता अर्काे तिर आयआर्जनका लागि बाख्रा पालन फेरी विभिन्न संघ संस्थाको जिम्वेवारीले गर्दा तामाङको निकै व्यस्तता बढेको थियो ।
तामाङको गाउँमा अझै पनि बाख्रा फर्म छ भने तरकारी खेती पनि गरिएको छ । विस्तापित भएर सुनसान भएको गाउँमा पनि मानिसहरु बसोबास थालेका छन् । गाउँमा फेरी चहलपहल बढेको छ ।
२०७९ सालको बैशाखमा स्थानीय निकायको चुनाव सम्पन्न भयो र मंसिरमा संघ र प्रदेशको चुनाव भयो । नेपाली काग्रेंस पार्टीले आफ्नो नाम समानुपातिकमा सिफारिस गर्दा आफू पर्छु नै भनेर त्यति विश्वास नलागेको भए पनि आशा भने थियो तामाङले भन्नुभयो । धेरै समय पार्टी र सामाजिक काममा खर्चिनुभएको तामाङ अन्तत प्रदेश सभाको समानुपातिकमा जनजाती कोटामा छनोट हुनुभयो ।
शान्त र मिजासिलो स्वभाव भएकी तामाङ आफूले पार्टीलाई दिएको योगदानको मुल्याङकन गरेर नेपाली काग्रेंस पाटीले आफूलाई समानुपातिकमा छनोट हुने अवसर प्रदान गरेको बताउनुभयो । पार्टीमा धेरै दिदीबहिनीहरुले महत्वपूर्ण योगदान गरेको भएपनि आफूले तामाङ समुदायबाट र महिलाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकोमा खुशी लागेको उहाँले बताउनुभयो । सबैलाई एकै पटक अवसर नआउने भन्दै निरन्तर कार्य गरेमा कुनै दिन अवसर आउने तामाङको भनाई छ ।
आफू गण्डकी प्रदेश सभा सदस्य भई संसदमा पुगेको १ वर्ष समय पूरा भएको यो अवधीमा केही सिक्ने बुझ्ने मौका पाएको बताउने तामाङले आगामी दिनमा समग्र जिल्लाको विकासमा लाग्ने बताउनुभयो ।
जिल्लाका विभिन्न ठाउँमा पुगेर कुन ठाउँमा के आवश्यक छ भनी स्थानीयसगँ छलफल र सरसल्लाहमा विकासका योजना ल्याउने तामाङले बताउनुभयो ।
महिलाहरुलाई सक्षम र आय आर्जन गरी आत्मनिर्भर बन्नको लागि महिला लक्षित विभिन्न कार्यक्रमहरु ल्याउने योजना रहेको तामाङले बताउनुभयो ।