आज देशभर शहीद दिवस मनाइँदै

-


     नयाँ दीप    
     माघ १६ गते २०८० मा प्रकाशित


देश र जनताको अधिकार प्राप्तिका लागि हाँसी हाँसी आफ्नो जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।

सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा ज्यान गुमाएका बीर सपुतहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेकाहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउने क्रम शुरु भएको हो ।

शहीद दिवसका अवसरमा सरकारी तथा विभिन्न सामाजिक तथा राजनीतिक संघ÷संगठनहरुले औपचारिक कार्यक्रम आयोजना गर्दै आएका छन् । शहीद दिवसका अवसरमा केन्द्र सरकारले सार्वजनिक विदा कटौति गरेको छ ।

वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र वलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाउन थालिएको हो ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

राणा शासन विरुद्धको आन्दोलनबाट शहीद हुने क्रम शुरु भएको नेपालमा हालसम्म विभिन्न राजनीतिक आन्दोलनका क्रममा मारिएका करिव १२ हजारलाई सरकारले औपचारिक रुपमा शहीद घोषणा गरिसकेको छ । पछिल्लो पटक द्धन्दका क्रममा मारिएका २ हजार ८ सय सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।