
लमजुङको सुन्दरवजारमा रहेको एच.डी.सी.एस-नमुना सामुदायिक अस्पतालले १ वर्षको अवधिमा १४ हजार बढी बिरामीलाई उपचार सेवा प्रदान गरेको छ ।
गतवर्ष जनवरी १ तारिखदेखि एचडीसीएसले अस्पताल सञ्चालनको जिम्मा लिएको सोमबार १ वर्ष पुगेको छ ।
यो अवधिमा १४ हजार ३ सय ६८ जना विरामीहरुलाई बहिरंग सेवा र यसमध्ये १ हजार १ सय २६ जना विरामीहरुलाई अन्तरंग सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा आएका विरामी मध्ये २ हजार ६ सय ६४ जनालाई आकस्मिक सेवा प्रदान गरिएको छ । उपचारका लागि आएका बिरामीमध्ये ७ हजार ५ सय ५४ जनाले निःशुल्क सेवा प्राप्त गरेका छन् ।
अस्पतालमा ६ हजार ९ सय १ जनाले ल्याब सेवा लिएका छन् । ३ हजार ५ सय २९ जनाले एक्सरे सेवा, २ हजार १ सय ६६ जनाले भिडियो एक्सरे सेवा र ८ सय ३४ जनाले इसिजी सेवा लिएका अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार १ वर्षको अवधिमा १६ जनाले सुरक्षित प्रसुति सेवा लिएका छन् । यसमा एउटा सुत्केरीको जटिल प्रकारको सेवा प्रदान गरिएको छ । यो सहित ५ जनाको शल्यक्रिया गरिएको छ ।
एचडीसीएस-नमुना सामुदायिक अस्पतालमा अस्पताल सञ्चालनको नयाँ व्यवस्था भएपछिको १ वर्षमा ३ हजार ३ जनाले दन्त सेवा लिएका छन् । ५ सय जनाले खोप सेवा लिएका छन् । अस्पतालमा भएको शल्यक्रिया सेवा अन्तर्गत १ हजार ५ सय २४ जनाको सामान्य शल्यक्रिया भएको छ । ११ जनाको जटिल प्रकारको शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।
अस्पतालले १ वर्षको अवधिमा विकट गाउँहरुमा पुगेर ५ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । ग्रामीण भेगमा आयोजना गरिएका निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार ८ सय १० जना लाभान्वित भएको अस्पतालले जनाएको छ ।