
लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको तयारी पुरा भएको छ । पुस १२ गतेबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यो बर्ष नेपाल आर्मी क्लब र र महेन्द्र पुलिस क्लब सहित देशभरका २१ टिमले खेलमा सहभागिता जनाउने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । खेलको तयारीका लागि मैदान सम्याउने, दर्शकका लागि बसेर हेर्न मिल्ने प्याराफिटको ब्यवस्था मिलाउने, मञ्च निर्माण गर्ने, टिम दर्ता गर्ने लगायतका सम्पूर्ण काम सम्पन्न भएको अध्यक्ष घिमिरेले बताउनुभयो ।
३१ बर्ष अगाडि खेतको गरा सम्याएर एउटा खसीको पुरस्कार राखेर सुरु भएको त्रिबेणी कप यति लामो समयसम्म निरन्तर चल्न सक्नु निकै ठुलो कुरा भएको क्लबका सदस्य दिपु श्रेष्ठले बताउनुभयो ।
त्रिवेणी कपलाई लमजुङ जिल्लामा खेल उत्सबको रुपमा समेत लिने गरिएको छ । विभिन्न काम तथा रोजगारिका लागि जिल्ला बाहिर तथा देश बाहिर पुगेका लमजुङबासी पनि फुटबल खेल नै हेर्नको लागि बिदा मिलाएर समेत आउने गरेका छन् ।
आफू नेदरल्याण्डबाट जिल्लामा त्रिवेणी कप सुरु हुने बेला पारेर नै गृहजिल्ला लमजुङ आएको पुर्व खेलाडी तथा क्लबका पुर्व सदस्य प्रेमजङ गुरुङले बताउनु भयो ।
गतवर्ष प्रथम पुरस्कार ५ लाख दिएको क्लवले यसवर्ष ३ लाख रुपैया थप गरी त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछन् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १\१ लाख दिइने छ ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०\२० हजार रुपैयाँ पाउनेछन् भने सेमिफाइनल पछिका खेलहरुमा उत्कृष्ट खेलाडी छनोट गरी पुरस्कृत पनि गरिने बताइएको छ । प्रतियोगिताको टिम दर्ता शुल्क २० हजार रुपैयाँ राखिएको छ ।
जिल्लामा फुटवल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन, खेल पर्यटनको बृद्धि गर्ने लगायतका उद्देश्यले प्रतियोगीता सञ्चालन गरीएको क्लबले जनाएको छ ।
क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगीता सञ्चालनका लागी ४७ लाख १० हजार अनुमानित खर्च हुने जनाएको छ । त्रिवेणी कपको ३१ औं संस्करणको प्रतियोगीता बेसीशहर स्थित सहजी खेल मैदानमा सञ्चालन हुनेछ ।
पुस १५ गते तमु ल्होसारको दिन क्लवले बेसीशहरको घलेगाउँ चोक देखि मनाङे चौतारासम्मको मुख्य सडकमा फूड फेस्टिबलको (खाना महोत्सब) समेत गर्ने जनाएको छ ।