भोज खाएर विरामी हुनेको संख्या बढ्दै

-


     नयाँ दीप    
     मंसिर २४ गते २०८० मा प्रकाशित


लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ८ भोटेओडार डुडकुलामा रहेको आनन्द सलाम चर्चमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने हाल सम्म ३९ जना बिरामी परेका छन् ।

बेशिसहर नगरपालिका वडा नं ४ पुरानोकोट स्थायी घर भई सुन्दरबजार नगरपालिका ९ भोटेओडार बस्ने बर्ष ३२ की देवी परियारको अस्पताल लैजाँदै गर्दा आईतबार बिहान बाटोमा नै मृत्यु भएको हो ।

मृतक देवि परियारको श्रीमान देवु परियार, १२ वर्षीया छोरी विद्या परियार सहित ३९ जना अहिले अस्पतालमा उपचारत छन् । घरका सदस्यहरु पनि बिरामी भई उपचार गराइरहेकाा छन् । मृतक परियारको शव जिल्ला अस्पतालमा राखिएको र विरामीहरुको उपचार पश्चात मात्रै पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्ष्यमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए । भोजमा कति जना सहभागि थिए भन्ने एकिन हुन नसकेको र हाल सम्म ३९ जना लाई समस्या देखिएको हो । बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

बिरामी मध्ये १ जनालाई जिल्ला अस्पताल बेशिसहरबाट आईतबार दिउसो नै रिफर गरिएको सुन्दरबजार प्रहरी चौकिले जनाएको छ ।

प्रहरीका अनुसार १ जना मृतक सहित १८ जना महिला, ५ जना पुरुष, ९ जना बालक, ६ जना बालिका बिरामी परेका छन् । भोज खाएर १ जना तनहुँ गएको र उतै बिरामी परेको भन्ने जानकरी पाएपछि अस्पताल प्रशासनले सम्पर्क गरेर नजिकको अस्पतालमा गई स्वास्थ्य चेकजाँच गर्न भनेको छ ।

शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनिहरुलाई आईतबार बिहान ५ बजे एचडिसिएस नमुना हस्पिटल लगिएको थियो।
के कसरि घटना घट्न पुगेको होरु यसमा जिल्ला प्रहरिले अनुसन्धान गरिरहेको जनाएको छ।

भोजमा सहभागीहरूले भात, कालो दाल, कुखुराको मासु, मुलाको अचार र गाउँघरमा पहिल्यै देखि खादै आएको धाराको पानि खाएको बताएका छन् । तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन ।

एच.डि.एस नमुना हस्पिटलका प्रमुख हेमन्त श्रेष्ठका अनुसार १ जनाको बिहान हस्पिटल आउने क्रममा नै मृत्यृ भएको र बाकि अन्यहरूलाई ज्वरो आउने, पातलो पखला लाग्ने, कमजोरी हुने, टाउको दुख्ने, पेट फुल्ने र बान्ता हुने लगाएतका लक्षण देखा परेको छ।

उहाँका अनुसार आईतबार बिहान बिरामीहरु अस्पताल आईपुगेपछि निरन्तर स्वास्थ्यकर्मिको टोली उपचारमा खटिएको छ। अझै पनि एदाकदा बिरामिहरु बढ्ने क्रम रहेको छ। आईतबार बिहान शुरुमा जटिल देखिएका केशहरुमा पनि क्रमिक सुधार हुदै आएको श्रेष्ठले बताउनुभयो।

भोजमा सहभागि र बिरामी पर्नु भएका धनप्रसाद गुरुङको अनुसार सहभागी सबैलाई समस्या नदेखिएको र पहिला भोज खाने भन्दा पछि भोज खाने लाई धेरै समस्या देखिएको छ। यो के कसरि भयो भन्ने बारेमा आफुहरु अनिबिज्ञ रहेको उहाँले बताउनुभयो ।

घटनाको बारेमा जानकरी लिन र बिरामीको अबस्था बुझ्नको लागि गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङ, सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोईराला, उपप्रमुख भवानी केसी, वडा नं ८ का वडाध्यक्ष बिजेन्द्र थापा लगाएतका जनप्रतिनिधिहरु अस्पाताल पुग्नु भएको थियो ।

उहाँलेहरुले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै, उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको थियो। विरामीहरुको उपचारमा कुनै पनि कमि कमजोरी नगर्न र आबश्यक परे आफुहरुसंग सम्पर्क गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ।

नगर प्रमुख कोईरालाले अस्पतालमा ओड्ने लुगाको कमि भएको र दिउसो नै ओढ्ने कपडा ब्यबस्था गरिदिएको जानकरी दिनुभयो। पैसाको अभाबले उपचारमा कमि नहोस भन्ने कुरा राख्दै उपचार गर्न नसक्नेहरुको पालिकाले उपचार गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो।