
सहकारीको रकम हिनामिनाको विषयलाई लिएर प्रहरीले पक्राउ गरि हिरासतमा रहेका मिलन शर्मा दनाई अनसनमा बस्नुभएको छ ।
निर्दाेष व्यक्तिहरुलाई समातेर दुख दिने र संस्थाका रकम हिनामिना गर्ने भनिएका मुख्य आरोपितलाई संरक्षण गरी पक्रन नसकेको भन्दै गत शुक्रबारदेखि दनाईले अनसन सुरु गरेको बताइएको छ ।
लमजुङको सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ६ जनालाई गत मंसिर १० गते अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
८ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कालिका सहकारीका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र उनको श्रीमती हाल सहकारीका कोषाध्यक्ष विनिता घिमिरे अझै फरार रहेको प्रहरीले जनाएको छ । शनिबार सहकारीमा आवद्ध थप २६ जनाको पक्राउ पुर्जी जारी भए पनि आइतबार साझसम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

पुलिसकै सुराकमा मुख्य आरोपित मृगेन्द्र र विनिता घिमिरे फरार भएको आशंका गरिएको छ । महिनादिन पहिले नै जिल्ला अदालत लमजुङबाट पक्राउ पुर्जी काटिएकोमा प्रहरीले नै मृगेन्द्र र बिनितालाई सूचना चुहावट गरेर पक्राउबाट जोगाएको चर्चा छ ।
दोषीलाई पक्राउ गरी कारवाही गर्न र निर्दाेशलाई सफाई दिन आइतबार प्रहरी कार्यलयमा हिरासतमा रहेका व्यक्तिहरुका आफन्तले दवाव समेत दिएका छन् । मुख्य दोषीलाई प्रहरी र नेताहरुकै संरक्षण रहेको हिरासतमा रहेकाहरुको आफन्तको भनाई छ ।
संस्थागत रुपमा आफ्नो जिम्मेवारीमा भएपनि कुनै पनि किसिमको भ्रष्टचार र रकम हिनामिनाको क्रियाकलापमा सहभागी नभएको भन्दै फरार दोषीहरुको यथाशिघ्र गिरफ्तारी नभएकोमा प्रहरी प्रशासनको पनि मिलेमतो छ भन्दै गिरफ्तारी नभए सम्म हिरासतमै आवरण अनसनमा बस्ने दनाई बताउनुहुन्छ ।
सहकारीमा बचत गर्ने बचतकर्ताहरुको रकम सुरक्षित हुनुपर्छ, बचत फिर्ता हुनुपर्छ र संस्था जोगाउनु पर्छ भन्ने विषयमा आफूहरु प्रतिवद्ध रहेको अनुसन्धानका लागि प्रहरी हिरासतमा अध्यक्ष शिवराम सिलुवालले बताउनुभयो ।
आफूहरुले अनुसन्धान एवम् छानविनको सम्पूर्ण प्रक्रियाहरु स्वीकार गर्ने र दोषी ठहरिएमा प्रचलित कानुन बमोजिम भोग्न बुझाउन तयार रहेको पिडितहरुको भनाई छ ।
अनुसन्धानको क्रममा प्रहरी हिरासतमा अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल छन् ।
कालिका सहकारीका संचालकका विरुद्ध १० करोड रकम अपचलन गरेको अभियोग छ । सहकारीको रकम हिनामिना एवं ठगीमा ४५ बढी बचतकर्ताहरुले सहकारी ठगी शिर्षकमा प्रहरीमा जाहेरी दिएका छन् ।
२ वर्षअघि तत्कालीन कालिका, कपुरेश्वर र सम्पदा नामका सहकारीहरु एकीकरण गरी जिल्लाकै पुरानो कालिका सहकारी नामकरण मार्फत सञ्चालनमा आएको थियो ।









