सुत्केरी मृत्यु प्रकरणमा विज्ञ टोलीले गर्योे छानविन

-


     भरत बाबु घिमिरे     
     मंसिर १५ गते २०८० मा प्रकाशित


लमजुङ जिल्ला अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएको घटनाको विषयलाई लिएर लमजुङ आएको उच्च स्तरीय छानविन टोलीले अनुसन्धान गरेको छ । 

शुक्रबार टोलीले जिल्लाको छानविन तथा अनुसन्धान कार्य सम्पन्न गरेको छ । छानविनका क्रममा पिडित पक्षसगँ, उपचारमा संलग्न डाक्टर, अस्पताल व्यवस्थापन समिति र अस्पतालका मेसु डा. विशाल तिवारीसगँ छुट्टाछुट्टै छलफल गरेको छ ।

अस्पतालमा गरिएको प्रारम्भिक छानविनमा गर्भवती विकको शल्यक्रिया गाइनोलोजिस्ट डाक्टरले नै गरेकाले उपचारमा कुनै त्रुटि नभेटिएको निर्णय गरेको छ । त्यस्तै अस्पतालमा आइसियु कक्षको व्यवस्था भएको भए उपचारमा थप सहयोग पुग्ने र रिफर भएकी सुत्केरी विकलाई थप उपचार गर्न बाहिरी जिल्लामा पठाउने कुरामा अस्पताल व्यवस्थापन, प्रदेश र केन्द्रिय सरकारको सिस्टमले काम नगरेको उल्लेख गरिएको छ ।

छानविनको लागि लमजुङ आएको विज्ञ टोली शनिबार चितवन मेडिकल कलेजमा थप छानविनको लागि जाने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । विकको उपचार भएको दुवै अस्पतालमा छानविन र अनुसन्धान गरी एक हप्ता भित्र प्रतिवेदन बुझाउने जिल्ला प्रशासनमा भएको बैठकमा निर्णय भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत्यु भएको छ भने उनको शल्यक्रियाबाट जन्मिएको शिशु मृत अवस्थामा थियो ।

पीडितका अनुसार गर्भवती विकलाई गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार दिउँसो शल्यक्रिया मार्फत मृत शशिु जन्मिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ ५ बजेतिर चितवन मेडिकल कलेज रिफर गरिएको थियो । उनको चितवन अस्पताल पुराउने वित्तिकै मृत्यु भएपछि पीडितले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी आमा दुवैको मृत्यु भएको आरोप लगाएका थिए ।

पीडितपक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाई बुधबार र विहिबार अस्पतालमा ढुगांमुडा गरी तनाबग्रस्त बनाएका थिए ।

मृतक विकको शव जिल्ला अस्पतालमै रहेको शनिबार पोष्टमार्टम गरिने बताइएको छ ।