
लमजुङको बेसिशहर नगरपालिकामा छैटौं राष्ट्रपती रनिङ शिल्डको तयारी सुरु गरिएको छ । यहि मंसिरको १४, १५ र १६ गते ३ दिनसम्म बेसीशहरमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरिएको हो ।
खेलकुदलाई व्यवस्थित, अनुशासित र मर्यादित बनाउन जनविकास मा.विका प्रधानाध्यापक एकदेव घिमिरेको संयोजकत्वमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा भूपू बोर्डिङका प्रिन्सिपल विनोद गुरुङ, बुद्ध मेमोरियल बोर्डिङका प्रिन्सिपल मोहन बहादुर राउत, शिक्षक राजु राउत, बालकुमारी अधिकारी, नीलबहादुर गुरुङ, भरत बहादुर खड्का, बेसीशहर शिक्षा शाखाका प्राविधिक सहायक सिर्जना पाण्डे चिलुवाल र खेलकुद विकास समिति बेसीशहर नगरपालिकाका अध्यक्ष सिजन श्रेष्ठ रहनुभएको छ ।
खेलकुदका लागि बेसीशहर नगरपालिका भित्रका विद्यालयहरुले मंसिर १३ गते नाम दर्ता गरिसक्नुपर्ने संयोजक प्र.अ घिमिरेले बताउनुभयो ।
भलिबल तर्फ छात्रछात्रा, एथेलेटिक्समा फिल्ड र ट्रयाक गरी १ सय, २ सय, ४ सय, ८ सय १५ सय र ३ हजार मिटरको दौड हुनेछ भने १०० मि x ४ र ४०० मि x ४ रिले दौड हुने बताईको छ ।
खेलकुद प्रतियोगिता जनविकास मावि बेसीशहरको खेल मैदान र सहजी खेल मैदानमा हुनेछ । खेलकुद विकास समितिको बैठकले भलिबल, एथलेटिक्स र कराँते सबैमा छात्रछात्रा गरी २८ वटा इभेन्टमा प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
बेसीशहर नगरपालिकाको शिक्षा शाखा अधिकृत रामकृष्ण त्रिपाठीले खेलकुदले बालबालिकाको शारीरिक र मानसिक बृद्धीमा सहयोग पुग्ने भएकोले पालिकाभित्रका सबै विद्यालयलाई खेलकुदमा भाग लिन अनुरोध गर्नुभएको छ । यसबाट छनोट भएका छात्रछात्राहहरु जिल्ला स्तरीय र त्यसबाट पनि छनोट भएर प्रदेश स्तरीय रनिङ शिल्डमा भाग लिन पाउने भएकाले विद्यार्थीको क्षमता बृद्धिका लागि रनिङ शिल्ड प्रतियोगिता राम्रो अबसर भएको अधिकृत त्रिपाठीले बताउनुभयो ।