
लमजुङको राइनास नगरापालिका वडा नं ६ धमिलीकुवामा रहेको शैलपुत्री मा.वि को स्वर्ण जयन्ती मनाउने कार्यक्रम तय गरिएको छ । सोमबार विद्यालयमा पत्रकार सम्मेलन गरि आगामी पुस २७ गते स्वर्ण जयन्ती मनाउने जानकारी गराइएको हो ।
विद्यालयका अध्यक्ष तुल्सीनारायण श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक गोपाल बहादुर नेपालीले कार्यक्रमलाई प्रभावकारी सफल बनाउन विभिन्न १३ वटा उपसमितिहरु गठन गरी विभिन्न कार्यक्रमहरु तय गरी काम अघि बढाईएको बताउनुभयो ।
साताब्यापी स्वर्ण जयन्तीमा विद्यालयले डेढ करोडको हाराहारीमा चन्दा संकलन गर्ने लक्ष्य राखेको अध्यक्ष तुल्सी नारायण श्रेष्ठले बताउनुभयो । संकलित रकमबाट विद्यालय परिषरमा स्वर्ण स्तम्भ निर्माण गर्ने देखि विद्यालयमा आवश्यक भौतिक संरचना निमार्ण गर्ने तथा गुणस्तरीय शिक्षा प्रदानका लागि खर्चिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
२०३० सालमा स्थापना भएको यस विद्यालयले २०३३ सालमा निमावि, २०४६ मा माध्यमिक, २०५४ मा उच्च मा.वि र २०७० सालमा प्राविधिक शिक्षा संचालनको स्वीकृत प्राप्त गरेको थियो भने २०७४ सालमा नेपाल सरकारद्धारा नमुना माध्यमिक विद्यालयको रुपमा मान्यता प्राप्त गरेको विद्यालयका प्र.अ दिनेश चिलुवालले बताउनुभयो । हाल विद्यालय ४ सय १९ जना विद्यार्थी अध्ययनरत छन् ।
स्वर्ण जयन्तीका अबसर पारी गौलीटार भाषा पाठशालाबाट विकशित भई स्थापना भएको यस विद्यालयसगँ सम्बद्ध सम्पूर्ण विषय तत्थ्य र प्रमाणहरुको खोजतलास गरी इतिहास उत्खननको काम समेत गर्ने योजना गरेको विद्यालयका सल्लाहकार जनकलाल श्रेष्ठ बताउनुभयो ।
कार्यक्रमको सहजिकरण विद्यालय प्रधानाध्यापक दिनेश चिलुवालले गर्नुभएको थियो ।