सामाजिक सद्भाव बिग्रेको भन्दै टिकटक बन्द गर्ने निर्णय

- सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्धप्रति सरोकारवाला संस्था तथा व्यक्तिहरुले गम्भीर आपत्ति, निर्णय फिर्ता लिन अनुरोध

-


     नयाँ दीप    
     कार्तिक २७ गते २०८० मा प्रकाशित


काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।
मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

यता सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्धप्रति सरोकारवाला संस्था तथा व्यक्तिहरुले गम्भीर आपत्ति जनाएका छन् । सोमबार नै ३० वटा संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै टिकटकमाथिको प्रतिबन्ध गलत भएको भन्दै आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भिनएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयप्रति हामी गहिरो चिन्ता र निराशा व्यक्त गर्दछौँ । मन्त्रिपरिषद्को यो निर्णय अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष हाम्रो छ ।’

टिकटकलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएर सञ्चार र अभिव्यक्तिको यो महत्त्वपूर्ण प्लेटफर्मलाई रोक्नुले विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरलाई सीमित गर्ने सरकारको नियत देखिएको उनीहरूको आरोप छ ।

‘नेपाली नागरिकहरूको अनलाइन कुराकानीमा संलग्न हुने, उनीहरूको दृष्टिकोण साझा गर्ने र विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरलाई सीमित गर्ने सरकारको नियत देखिएको छ। यसबाहेक, यस्तो प्रतिबन्धले सामग्री सिर्जनाकर्ताहरू र साना तथा मझौला उद्यमहरुको आर्थिक अवसरहरूमा प्रतिकूल असर पारी उनीहरुको व्यवसायिक स्थायित्वमा गम्भीर जोखिम पर्ने देखिन्छ ’ विज्ञप्तीमा भनिएको छ ।

टिकटक बन्द गर्ने नेपाल एक्लो देश होइन । भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले पनि टिकटक बन्द गरेका छन् । उनीहरुले डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका हुन् ।

डेनमार्कले गत मार्चमा आफ्ना कर्मचारीलाई काम गर्ने डिभाइसमा टिकटक चलाउन रोक लगाएको थियो । अस्ट्रेलिया, बेल्जियम र क्यानडाले पनि सबै सरकारी मोबाइल डिभाइसमा टिकटक चलाउन रोक लगाएका छन् ।

भारतले सन् २०२० मा नै टिकटक सहितका ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाले टिकटक सहितका चिनियाँ एप बन्द गरेको थियो ।

सन् २०२२ मा अफगानिस्तानमा सरकारमा आए लगत्तै तालिवानले इस्लामिक कानुन विपरीत रहेको भन्दै टिकटक बन्द गरेको थियो ।