सुन्दरबजारका भूमिहिन सुकुम्बासीले पाए जग्गा धनी पूर्जा

-


     भरत बाबु घिमिरे    
     कार्तिक २४ गते २०८० मा प्रकाशित


लमजुङ सुन्दरबजारका २३ जना भूमिहीन दलित र सुकुम्बासीले जग्गाधनी पूर्जा पाएका छन् । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले शुक्रबार सुन्दरबजार नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको हो ।

जग्गाधनी लालपूर्जा वितरण गर्दै प्रमुख अथिती निरौलाले नेपाल सरकारको महत्वपूर्ण आयोजना पूर्व पश्चिम जोड्ने सुन्दरबजारमा पर्ने मध्यपहाडी लोकमार्ग नजिकै महत्वपूर्ण ठाउँमा भूमिहिनलाई जग्गा दिनु ज्यादै राम्रो भएको बताउनुभयो । अब बाँकी भूमिहिन तथा अव्यवस्थीतलाई पूर्जा दिन र काम तिब्र रुपमा अघि बढाउनको लागि आवश्यक परेमा कर्मचारी थप गर्न सहयोग गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा उपस्थित प्रतिनिधी सभा सदस्य उर्मिला माझीले सरकारले जुन उद्धेश्यले भूमी आयोग गठन गरेको हो त्यो पूरा भएकोमा खुशी व्यक्त गर्नुभएको थियो । बाँकी रहेका भूमिहिन सुकुम्बासीलाई पनि निर्धक्क भएर सिफारिस गर्न माझीले कार्यपालिकालाई अनुरोध गर्नुभयो ।

सुन्दरबजार नरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सुन्दरबजार नगरपालिका ७ माछापुच्छ्रे टोल लगायतका ठाउँमा बसोबास गर्ने भूमिहिनलाई आफूले प्राप्त गरेको जग्गामा गएर बस्न अनुरोध गर्दै त्यस ठाउँमा चाहिने बक्ति, पानी लगायतका पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङले सुन्दरबजार नगरपालिका भित्र हालसम्म पहिचान भई प्रमाणिकरण भएका ४७ जना भूमिहीन दलित तथा सुकुम्बासी मध्ये ३३ जनाको दर्ता भएको र ती मध्ये पनि २३ जनालाई शुक्रबार जग्गा धनि पूर्जा वितरण गरेको छ । दर्ता भैसकेका १० परिवारले मंसिर १० गते भित्र प्रमाण लिएर कार्यालयमा आए तुरुन्तै जग्गाधनीलाई पुर्जा दिने भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका–७ को टुनिपाटमा र वडा नं. ८ को पिपलपाटमा रहेको सार्वजनीक जग्गामा रहेका भूमिहीन दलित र सुकुम्बासीले जग्गा धनि पूर्जा पाएका हुन् । वडा नं. ७ का १२ जना र वडा नं. ८ का ११ जनाले जग्गा धनि पूर्जा पाएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पुर्णबहादुर गुरुङ, राईनास नगरपालिकाका प्रमुख खड्क बहादुर गुरुङ, सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी केसी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरि नायब उपरिक्षक मिन बहादुर घले, आयोग जिल्ला समिति सदस्यहरु, सुन्दरबजार नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेल, लगायतको उपस्थिती थियो ।
सदस्य शोभा थापाले स्वागत गर्नुभएको कार्यक्रममा सदस्य सचिब तथा नापी कार्यालय प्रमुख ई. बिनोद श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको र संचालन बिज्ञ सदस्य ऋषिकेश घिमिरेले गर्नुभएको थियो ।