बेच्न राखिएका प्लास्टिकका फुलका माला जफत

- चाडबाडको बेला ऋण खोजेर ल्याएको फूलमालाहरु प्रशासनले विना सूचना जफत गरेको भन्दै आफूहरु माथि अन्याय गरेको व्यपारीहरुको गुनासो

-


     नयाँ दीप    
     कार्तिक २४ गते २०८० मा प्रकाशित


जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर बजारका पसलहरुमा प्रतिवन्ध गरिएको प्लास्टिकका फुलका मालाहरु जफत गरेको छ ।
मनाङे चौताराबाट भिमसेन स्थानचोक सम्म शुक्रबार १२ वटा पसल अनुगमनका क्रममा फेला परेको ८ सय ५ वटा बेच्न राखिएकोप्लास्टिकका माला जफत गरेको हो ।

अनुगमनका क्रममा भिमसेन स्थानचोकमा रहेको शिवशंकर पुजा सामाग्री पसलले पोखरामा रहेको भट्टराई पुजा पसल बगर पोखराबाट प्रतिवन्धित फूलका मालाहरु खरिद गरेको भेटिएकोले राजश्व छलि भएको हुन सक्ने र जयन्ती पुजा सामाग्री पसलले बैदिक पूजा सामाग्री सप्लायर्स भरतपुर १ नारायणगढ चितवनबाट खरिद गरेका बिल भेटिएकाले सम्बन्धीत निकायबाट कारवाही हुनुपर्ने बजार अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तिहार पर्व नजिकिएसँगै बजारमा प्रतिवन्ध भएको प्लास्टिकका फूलका मालाहरु अत्याधिक मात्रामा भित्रिएकाले यसको रोकथामका लागि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयँलले बताउनुभयो ।

अनुगमनका क्रममा पसलमा राखिएका प्लास्टिकका मालाहरु धमाधम उठाउन थालेपछि व्यपारीहरु व्यापारीहरु कतै नम्र भएर आफ्ना सामाग्री नलैजान अनुरोध गरेका थिए भने कतै निकै आक्रोशित भएका थिए । । चाडबाडको बेला ऋण खोजेर फूलमालाहरु ल्याएको भन्दै विना सुचना प्रशासनले आफूहरु माथि अन्याय गरेको व्यपारीहरुले गुनासो गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नेपाल सरकारले २०७९ साउन १२ गतेबाट नै प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, निर्यात, बिक्री बितरण तथा भण्डारणमा रोक लगाएको बताउनुभयो । १६ महिना अघिदेखि नै प्लाष्टिकजन्य फुलगुच्छा विक्री वितरणमा रोक लगाइएको भए पनि व्यापारीहरुले अटेर गरेकोले बाध्य भएर जफत गर्नुपरेको प्रजिअ अधिकारीले बताउनुभयो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनामा दशैं तिहार, छठ लगायतका पर्वमा प्लाष्टिकजन्य फुल गुच्छा विक्री बितरण रोक्ने तथा नेपालमा हुने पुष्प खेती, पुष्प कृषक र पुष्प व्यवसायलाई प्रोत्साहन गर्न छिमेकी राष्ट्रबाट बैद्य तथा अबैद्य फुल आयातलाई नियन्त्रण र नियमन गर्ने भनी उल्लेख गरिएको छ ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रजिअ गोकर्णराज सुँयल, पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा, प्रहरी, उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासघंको प्रतिनिधित्व रहेको थियो ।