जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्पले क्षति

-


     नयाँ दीप    
     कार्तिक २० गते २०८० मा प्रकाशित


जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएकोे परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको स्थानीय वीरबहादुर ओलीले जानकारी दिए ।

राउतगाउँमा भूकम्पमा परी एकजना घाइते भएका छन् । राउतगाउँ वरपरकै गाउँहरु भरावन र गैरी क्षेत्रमा पनि घरहरु भत्किएका छन् । शक्तिशाली परकम्प आउँदा ठूलो आवाज आउनुका साथै गाउँभरि नै घर भत्किएर धुलो उडेको देखिन्थ्यो ।

‘लामो समयसम्म हल्लायो, पहिले नभत्किएका घरहरु पनि अहिले भत्किए’ स्थानीय बलवीर खत्रीले भने ।