
लमजुङको विकट गाउँ दुधपोखरीमा सुविधा सम्पन्न अस्पतालको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।
दुधपोखरी गाउँपालिकाको वडा नं २ अल्काचौरमा निर्माणाधिन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो ।
विगत २ वर्ष अघि २०७८ सालदेखि १५ शैयाको अस्पताल निर्माण कार्य सुरु भएको तत्कालिन गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङले बताउनुभयो । ३ वर्षमा सक्ने लक्ष्य लिइएपनि २ वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्नको अवस्थामा पुगेको बताइएको छ ।
संघ सरकारको १३ करोड लगानीमा ९ रोपनी जग्गामा सो अस्पताल निर्माण कार्य सुरु भएको थियो । अस्पताल बनाउनको लागि सबै जग्गा स्थानीयले स्वच्छिक रुपमा दान गरेका वडा नं २ का पुर्व वडाध्यक्ष गोविन्द दवाडीले बताउनुभयो ।
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने दुधपोखरी गाउँ पालिका जिल्ला कै निकै विकट पालिका हो । नजिकै कुनै अस्पताल नभएका कारण यस क्षेत्रका नागरिक विरामी भएमा सदरमुकाम बेसीशहर, गोर्खाको भच्चेक वा काठमाडौं, पोखरा धाउनु पर्ने अवस्था थियोे ।
अस्पतालमा सेवा सुरु भए पछि दुधपोखरी गाउँपालिका र छिमेकी गोर्खा जिल्लाको अजिरकोट गाँउपालिकाको गरी करिव १५ हजार जना लाभान्वित हुने दवाडीले बताउनुभयो ।
निर्माणको अन्तिम चरणमा पुगेको अस्पतालको हाल रगं लगाउने, फल्स सिलिङ राख्ने, झ्याल ढोका राख्ने लगायतका काम भैरहेको छ । अवको केहि महिना भित्रमा नै निर्माण सम्पन्न भई अस्पतालले सेवा दिन सुरु गर्ने गाँउपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले बताउनुभयो ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत बनेको अस्पतालमा ५ देखि ७ जनासम्म एम.डि सहितका डाक्टरहरु रहने व्यवस्था भएको बताइएको छ ।
गाउँ मै सुविधा सम्पन्न अस्पताल बनेपछि सामान्य उपचारको लागि पनि धेरै टाढा धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय पनि निकै खुशी भएका छन् ।









