
बेसीशहर । लमजुङको बेसीशहर नगरपालिकामा घरमा पालिकाएका नीजि कुकुर मध्ये ३५ वटा मात्रै दर्ता भएका छन् ।
सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले असोज १२ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै १५ दिनभित्र नीजि रूपमा पालिएका कुकुरहरूलाइ नगरपालिकामा दर्ता गरी अनुमति लिन सूचना जारी गरेको थियो । सोहि सुचनाका आधारमा १५ दिन भित्र जम्मा नीजि पालिएका ३५ वटा कुकुर मात्रै दर्ता भएको हो ।
बेसीशहर नगरपालिका भित्र नीजि रुपमा पालिएका कुकुरको संख्या १ हजार भन्दा धेरै हुन सक्ने नगरपालिकाका अधिकृत शुशिला श्रेष्ठले बताउनुभयो ।
घरमा पालिएका कुकुरलाई विहान विहानै सडकमा डुलाउने र अर्काको घर अगाडि, वरपर वा सडकमा दिसापिसाब गराउने भद्रभलाद्मीको संख्या बढ्दै गएको छ भने सडकमा बेवारिस कुकुरको संख्या पनि बढेको छ ।
यस्ता बेवारिसे कुकुरले सडकमा हिड्ने यात्रुलाई झम्टने, टोक्ने गर्नुका साथै सवारी साधनको पछि पछि दौडेर झम्टने हुदा दुर्घटनाको जोखिम समेत बढेको छ । बेबारिसे कुकुरको व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन आवश्यक रहेको स्थानीयको भनाई छ ।
नगर क्षेत्रभित्र बेवारिसे तथा घरपालुवा कुकुरहरू बढ्न गइ बजार क्षेत्रका घर, होटल तथा रेष्टुरेण्टहरूमा पसी खानेकुरा खाइ नष्ट गर्ने तथा घरभित्र पसी दिसापिसाब गरी फोहोर बनाएको र सडक पेटी तथा नालीहरूमा जथाभावी दिसापिसाब गरी फोहोर बनाएको जनगुनासो बढेको भन्दै नगरपालिकाले घरपालुवा कुकुरहरु दर्ता गर्नको लागि सूचना जारी गरेको हो ।