
लमजुङको बेसीशहर नगरपालिकामा चालु बर्षदेखी शुरु गर्न लागिएको मेयर शैक्षिक सुधार कार्यक्रमका बारेमा अवधारण प्रस्तुत गरिएको छ । बेसीशहर नगरपालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यपकहरुसंग बेसीशहरमा आईतबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
बेसीशहर भित्रका विद्यालयलाई स्मार्ट विद्यालयको अवधारण अनुसार अघि बढाउन मेयर शैक्षिक सुधार कार्यक्रम अघि बढाईएको हो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर २ का अध्यक्ष मदन रानाले अवधारण प्रस्तुत गर्दै नयाँ प्रविधिका माध्यमबाट पठ्नपाठ्न गर्न, शिक्षकहरुलाई थप दक्ष बनाउन र ब्यबस्थापन समितिलाई क्रियाशील रुपमा अघि बढाउन मेयर शैक्षिक सुधार कार्यक्रमा शुरु गर्न लागिएको बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक रानाले नगरपालिका भित्र शिक्षा र प्रविधीको क्षेत्रमा दक्ष समुह बनाएर उक्त कार्यक्रम संचालन गर्नुपर्ने अवधारण प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु बर्षमा ४ देखी ५ वटा विद्यालय छनोटगरी ती विद्यालयमा मेयर शैक्षिक सुधार कार्यक्रम संचालन गरिने जानकारी दिनुभएको थियो । बेसीशहर नगरपालिकामा मेयर शैक्षिक सुधार कार्यक्रमका लागि चालु बर्षमा २० लाख रुपैया बजेट विनियोजित गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विद्यालयमा प्रधानाध्यपकहरुले सबैको साथ र सहयोग लिएर निपष्क्ष र पारदर्शी रुपमा विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । प्रमुख अर्यालले विद्यालयमा समस्या आएमा समस्याकै बीचबाट सबैसँग छलफल र सहकार्यगरी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।
बेसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख किसानराज चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शखाामा कार्यरत समेत रहनु भएका शिक्षक महासंघ लमजुङका अध्यक्ष तीर्थराज न्यौपाने, नगरपालिकाका प्रवक्ता एवं शिक्षा समितिका सदस्य हिरालाल विश्वकार्मा, नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, बेसीशहर नगरपालिकाका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यपकहरुको सहभागित रहेको थियो । कार्यक्रमको संचालन शिक्षा शाखाका कार्यरत सिर्जना पाण्डे चिलुवालले गर्नुभएको थियो ।
सोही कार्यक्रममा स्थानीय पाठ्यक्रम( कक्षा १–८) सामाग्री निर्माणका लागि समेत छलफल भई ११ जना शिक्षकहरुको टिम समेत प्रस्ताव गरिएकोमा उक्त प्रस्तावलाई शिक्षा समितिको बैठकमा छलफलगरी निर्णय गरिने जनाईएको छ ।











