लमजुङको उदिपुरको पहिरो नियन्त्रण भएपछि गाडी सरर, अझै ९० प्रतिशत काम हुन बाँकी,

-


     भरत बाबु घिमिरे    
     असाेज १८ गते २०८० मा प्रकाशित


लमजुङको उदिपुरमा पहिरोले बाटो नै बगाएपछि निकै सास्ती पाएका लमजुङेहरुले यो वर्षको बर्खामा भने सहज तरिकाले आवतजावत गरेका छन् । पहिरो नियन्त्रण गरी बाटो मर्मत भएपछि यातायातका लागि सहज भएको हो ।

तनहुँको डुम्रे बजारबाट लमजुङको वेसीशहर हुँदै मनाङसम्म पुग्ने सडकको उदिपुरको देउराली डाँडामा पहिरोका कारण भासिएको सडक निर्माणका कार्य भैरहेको छ । हालसम्म १० प्रतिशत काम भएको, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर, लमजुङका योजना प्रमुख रविन्द्र दासले बताउनुभयो ।

पोखराको फेवा कन्सट्रक्सन कम्पनीले भ्याट सहित १३ करोड ६५ लाख १५ हजार १ सय ६३ रुपैयामा ठेक्का सम्झौता गरि गत बैशाखबाट काम सुरु गरेको हो । सडक निर्माणको क्रममा स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण तथा ग्याविन जालीमा ढुगां भर्ने काम भैरहेको छ ।

२०७८ सालको भदौमा र २०७९ को असारमा गएको पहिरोले यस क्षेत्रका लमजुङ तथा मनाङका स्थानीयले निकै सास्ती खेप्नुपरेको थियो ।

यो वर्षको बर्षायाममा सडक सहज तरिकाले सञ्चालन हुन सक्ने गरी पहिलो चरणमा निकै तिब्र गतिमा काम गरिएको डुम्रे बेसिशहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताउनुभयो । यो बर्खाको समयमा कुनै पनि दिन सो बाटो अवरुद्ध नभएको बताइएको छ ।

गतवर्षको हिउँदमा होस् वा बर्षातको समयमा छिनछिनमै पहिरो खस्दा यातायात प्रभावित हुदै आएको थियो । आझै पनि काम धेरै बाँकी रहेको र निर्माण कम्पनीसगँ ०८१ सालको पुस मसान्त सम्ममा ठेक्का सम्झौता भए पनि त्यस अगावै असार मसान्त सम्ममा निमार्ण सम्पन्न हुने योजना प्रमुख दासले बताउनुभयो ।

विषेशगरी राजमार्गसगँ जोडिएका शाखा सडकहरु जथाभावी रुपमा खोल्नाले धेरै जसो ठाउँका मुख्य सडकहरु विग्रने गरेको कार्यलयको भनाई छ । पालिका वा वडा कार्यलयको निर्णयमा मात्रै शाखा सडकहरु जथाभावी खन्दा हिमपाईप जडान नगर्ने, नालीहरु व्यवस्थीत नहुने, मुल सडकमा पानी बग्ने र पहिरो जाने समस्या भएको बताईएको छ । यस्तो हुदाँ मुल सडकले धेरै क्षती व्यहोर्नु परेको र यसले गर्दा यात्रुलाई समेत असहज हुने भन्दै सहायक सडक खोल्दा सडक डिभिजनसगँ सहकार्य गरी अनुमती लिन योजना प्रमुख दासले अनुरोध गर्नुभएको छ ।