नयाँ पुस्तामा हस्तान्तरण गर्दै नेवारी संस्कृती लाखे नाच

-


     भरत बाबु घिमिरे    
     भाद्र १४ गते २०८० मा प्रकाशित


लमजुङ सदरमुकाम बेसीशहरमा विगत १ महिना अघिदेखि लाखे नाच सुरु भएको छ । नयाँपुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्नको लागि लमजुङका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका हुन् ।

लाखे नाच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवापुस्तालाई सिकाउनको लागि एक महिना भन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताउनुभयो ।

बेसीशहरको भिमसेन स्थान चोकमा हरेक दिन साझ निकालिने लाखे नाच नाच्दै बेसीशहर बजार परिक्रममा गर्ने गरिएको छ भने नेवारी समुदायमा निकालिने टाकटुके नाच समेत सिकाउने गरिएको छ । दुवै हातमा लौरी लिएर बाजाको साथमा समूहमा टाकटुके नाच नाच्ने गरिन्छ । लमजुङमा नाचिने टाकटुके नाचको १८ वटा ताल रहेको छ । ठाउँ अनुसार टाकटुके नाचको ताल पनि फरक फरक हुने बताइन्छ ।

लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । परम्परा देखि लगाउदै आएको पुरानो खम्पर मुखौटो लगाएर, कपाल फिजारी, मान्छेलाई भूत जस्तो स्वरुप बनाई ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । लाखे नाच हेर्न बजारमा ठूलो भीड लाग्ने गर्दछ ।

नेवार संस्कृतिमध्ये लाखे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म विभिन्न नाच तथा जात्राहरु देखाउने प्रचलन छ । एक महिनाको अवधीमा लाखे नाच, घोडा नाच, गाईजात्रा, श्रीकृष्ण रथयात्रा, रोपाई जात्रा जस्ता जात्राहरु विभिन्न पर्वको अवसर पारी देखाउने प्रचलन रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेवा समुदायको पुरानो कलासंस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि पाका पुस्ताबाट नयाँ पुस्तामा तालिम मार्फत हस्तान्तरण गर्दै युवाहरु मिलेर बजारमा लाखे नाच देखाईएको नेवा खलका सचिव विमल श्रेष्ठले बताउनुभयो । परापूर्वकाल देखि चल्दै आएको यस्तो जात्राहरु लाग्दा गाउँगाउँबाट मनोरन्जनको लिनको लागि मान्छेहरु धेरै जम्मा हुने र व्यवसाय समेत प्रवद्धर्न हुने हुनाले पनि, नेवारी परम्परामा यस्ता संस्कृती मौलाएको हुन सक्ने सचिब श्रेष्ठको भनाई छ ।