
लमजुङको क्व्होलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट कामकाज सुरु गरिएको छ । । गाउँपालिकाको वडा नं २ मालिङमा भवन निर्माण सम्पन्न भएसँगै बुधबार देखि नयाँ भवनमा सरेर पालिकाको कामकाज सुरु गरिएको हो ।
४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरिएको छ ।
तीन तले आरसीसी भवन निर्माणका लागि २०७७ असोज ३० गते सम्झौता गरी २०७९ असोज ३० गते निर्माण सक्नुपर्नेमा निर्माण कम्पनीले २ पटक गरी ६ महिना म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो ।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २ करोड र गाउँपालिकाले २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको अध्यक्ष गुरुङले बताउनुभएको छ ।
२ रोपनी ४ आना २ पैसामा जग्गामा रविना–अविशा–विकन जेभीले भवन निर्माण गरेको हो । भवन निर्माणका लागि २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरिएको थियो भने सँगै रहेको ३ आना जग्गा निवर्तमान वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क पालिकालाई दान दिनुभएको छ ।
यसअघि आफ्नै भवन नहुँदा जनप्रतिनिधि, कार्यालय र शाखाहरु छुट्टाछुट्टै छरिएर सञ्चालन हुँदै आएकोमा नयाँ भवन निमार्ण सम्पन्न भएसगँै पुजाआजा गरी बुधबारबाट नै नयाँ भवनमा प्रवेश गरी कामकाज समेत सुरु गरिएको अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो ।

भवनमा ३६ वटा कोठा र एउटा हल बनाइएको छ । भवनमा सीसी क्यामरा जडान गरिएको छ । सेवाग्राहीलाई कामकाजमा ढिलाइ नहोस् भनेर सोलार, ब्याट्री व्याकअप समेत राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताउनुभयो । आफ्ने भवन नहुँदा पालिकाका शाखाहरु छरिएर रहेकोमा अवका दिनमा सेवा प्रदान गर्न र लिने दुवैलाई सहज भएको अधिकृत गुरुङले बताउनुभयो ।
नयाँ भवन प्रवेश कार्यक्रममा क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष नारायण गुरुङ, ३ का वडाध्यक्ष आसबीर गुरुङ, २ का वडाध्यक्ष खुसीमान गुरुङ, वडा नं. ९ का वडाध्यक्ष हुमराज गुरुङ लगायतको उपस्थिती रहेको स्थानीय गोपाल गुरुङले जानकारी दिनुभएको छ ।












