बाराको चुरियामाइमा भारतीय तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

-


     नयाँ दीप    
     भाद्र ७ गते २०८० मा प्रकाशित


बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।
आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार काठमाडौंबाट म्याग्दीका लागि हिडेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।