बेसीशहर बजारका खाद्यान्न र किराना पसल अनुगमन

-


     नयाँ दीप    
     श्रावण २४ गते २०८० मा प्रकाशित


बुधबार बेसीशहर बजारमा खाद्यन्न र किराना पसल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यलय लमजुङको आगुवाईमा बुधबार बजार अनुमगन गरिएको हो । बेसीशहरको विभिन्न ९ वटा पसलहरुको अनुगमन गरिएको थियो ।

अनुगमनमा विषेश गरी खाद्य सामाग्रीहरुको उत्पादन मिति, खरिद मुल्य विल र विक्री मूल्यको विल हेरिएको थियो । अनुगमनका क्रममा खाद्य सामाग्रीहरुमा लेवलिङ नगरिएको, मुल्यसूची नराखेको, म्याद गुज्रेका सामाग्री फेला परेका थिए ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्री जफत गरिएको छ भने पसलमा साइनबोर्ड राख्न, खाद्य सामाग्रीको मूल्यसुची राख्न र नगरपालिका तथा घरेलुमा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न सुझाब दिएको अनुगमन टोलीका संयोजक पर्यटन तथा साना उद्योग कार्यालयका प्रमुख मिता कुमारी थापाले बताउनुभयो ।जफत गरिएका सामाग्रीलाई मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयले प्रक्रिया पूरा गरेर नष्ट गर्ने जिल्ला प्रसाशन कार्यलय लमजुङका प्रशासकिय अधिकृत जगदिश मिश्रले बताउनुभयो ।

पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जगदिश मिश्र, पत्रकार महासंघ लमजुङका सदस्य सृजना बराल, बेसीशर नगरपालिकाका नगरप्रहरी राजु सेढाइ, प्रहरी सहायक निरीक्षक मनबहादुर गुरुङ, प्रहरी लक्ष्मी वि.क लगायतको उपस्थितीमा संयुक्त बजार अनुगमन गरिएको हो । चाडवाड नजिकिदै गर्दा उपभोक्ताहरुलाई सहज र सुपथ मुल्यमा सामाग्रीको उपलब्धता होस् भनेर अनुगमन गरिएको बताइएको छ ।