१ सय किलो सुन प्रकरणको अनुसन्धानको लागि राजस्व अनुसन्धान विभागले प्रहरीलाई बुझायो फाइल

-


     नयाँ दीप    
     श्रावण २१ गते २०८० मा प्रकाशित


राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरण अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।
विभागका महानिर्देशक नवराज ढुंगानाले पत्रकार सम्मेलन गरेर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सुन छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्वोरी प्रहरीलाई दिएको हो । पत्रकार सम्मेलनमा सुन तस्करी अन्तरदेशीय सङ्गठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई दिएको जानकारी दिनुभयो । अनुसन्धानमा अहिलेसम्म भएको काम र पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइएको महानिर्देशक ढुंगानाले बताउनुभयो । पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गरेको छ ।
अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाउने छ । सीआईबीमा वित्तीय र सङ्गठित अपराध हेर्ने छुट्टै युनिट छन् । विभागले पहिलोपल्ट अनुसन्धान चल्दा चल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई दिएको हो ।
विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । तस्करहरूले हङकङबाट नेपाल ल्याएको सुन प्रकरणमा विमानस्थल भन्सारका तीन जना कर्मचारीसहित १८ जना पक्राउ परिसकेका छन् ।
सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने भएकोले सङ्गठित अपराध, अन्तर्देशीय अपराध र आतङ्कवादसँग पनि जोडेर अनुसन्धान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै अनुसन्धानको काम प्रहरीलाई दिन निर्देशन दिनुभएको थियो ।