
लमजुङ। जन्मदिनमा हुने खर्च कटाएर लायन्स क्लब अफ लमजुङ टुगेदर वी क्यानका सदस्यहरूले दसैँको फूलपातीका दिन विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्।
क्लबका अध्यक्ष दिव्या मास्के, सचिव रोशनी श्रेष्ठ तथा सदस्य अप्सरा श्रेष्ठ र प्रसन्न श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर बेसीशहर नगरपालिका–३, दनाईगाउँमा बस्दै आएको चन्द्रबहादुर दुलालको परिवारलाई सहयोग गरेका हुन्।
क्लबका सदस्यहरूले चन्द्रबहादुरकी श्रीमती धनमाया दुलाल र उनका सात वर्षीय छोरा विवेक तथा तीन वर्षीया छोरी विनिताका लागि आवश्यक चामल, दाल, तेल, मसला, मासुलगायत दसैँमा आवश्यक सामग्री र लत्ताकपडा समेत हस्तान्तरण गरेका छन्।
धनमाया विगत तीन महिनादेखि पक्षघातका कारण बोल्न, उठ्न र हिँड्न नसक्ने अवस्थामा छिन्। काम गरेर परिवारको गुजारा चलाउनसमेत कठिन भएपछि परिवारलाई चाडपर्वका बेला थप समस्या नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबकी अध्यक्ष दिव्या मास्केले बताइन्।

जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी असहाय तथा विपन्न परिवारको खुसीमा जोड्ने उद्देश्यले सामूहिक रूपमा सहयोग गरिएको उनले बताइन्।
लायन्स क्लब अफ लमजुङ टुगेदर वी क्यानले सामाजिक सेवाअन्तर्गत विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

असोज महिनामा जन्मदिन परेका ४ जना सदस्यहरु









