दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

-


     नयाँ दीप    
     असाेज ७ गते २०८३ मा प्रकाशित


काठमाडौँ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधनको प्रक्रिया दसैँअघि नै टुङ्ग्याउन मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।

मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहित उच्च अधिकारी तथा सचिवालयका पदाधिकारीसँग छलफल गर्दै एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको हो।

शिक्षा नियमावलीको दशौँ संशोधनपछि देखिएका समस्या तथा सरोकारवालाबाट आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसम्बन्धी जटिलतालगायत विषयमा आवश्यक सुधारसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको हो।

दशौँ संशोधनका केही प्रावधानप्रति असन्तुष्टि र गुनासा आएपछि मन्त्रालयले विभिन्न चरणमा सरोकारवालासँग छलफल गर्दै सुझाव सङ्कलन गरेको थियो। सातै प्रदेशमा शिक्षा संवाद तथा छलफलमार्फत राय–सुझाव लिइएको थियो। तीमध्ये कतिपय छलफलमा मन्त्री पोखरेल स्वयं सहभागी हुनुभएको थियो।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी तथा विज्ञ सम्मिलित टोलीले समेत विभिन्न स्थानमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको मन्त्रालयले जनाएको छ।

मन्त्री पोखरेलले नेपाल सरकारले चालु वर्षलाई ‘कानुन निर्माणको वर्ष’ का रूपमा अघि बढाएको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने ऐन तथा नियमावलीलाई समेत शीघ्र टुङ्ग्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ।

मन्त्रालयका अनुसार दशौँ संशोधनपछि देखिएका समस्या, शिक्षक सरुवा तथा विद्यालय व्यवस्थापन समितिलगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार गर्ने काम भइरहेको छ।