भारी वर्षा र विपद्को जोखिममा असोज ८ र ९ गते विद्यालय बन्द गर्न सकिने

-


     नयाँ दीप    
     असाेज ७ गते २०८३ मा प्रकाशित


काठमाडौँ, शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा, हिमपात तथा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङको सम्भावना रहेको जानकारी प्राप्त भएको जनाएको छ।

यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने जोखिम रहेकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिन मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयले सबै विद्यार्थी तथा बालबालिका, शिक्षक र कर्मचारी सुरक्षित रहने गरी असोज ७ र ८ गते स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न–गराउन अनुरोध गरेको छ।

त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ।

विपद्को अवस्था सिर्जना भएमा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले अभिभावकलाई समेत बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ। साथै, सबै शैक्षिक संस्था र सरोकारवालालाई मौसम तथा विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।