सहयोगी हातहरूको साथमा २४ वर्षदेखि ज्येष्ठ नागरिकको सहारा बन्दै सर्वोदय सेवाश्रम

-


     नयाँ दीप    
     श्रावण ८ गते २०८३ मा प्रकाशित


लमजुङको सर्वोदय सेवाश्रमले आफ्नो २४औँ स्थापना दिवस वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन सार्वजनिक, शुभकामना आदानप्रदान तथा सहयोगी संस्था र व्यक्तिहरूलाई सम्मान गर्दै सम्पन्न गरेको छ।

लमजुङ जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी बलका प्रमुख विकास अधिकारी, प्रदेश अस्पताल लमजुङका अध्यक्ष विजय गुरुङ, ज्येष्ठ नागरिक संघ लमजुङका कोषाध्यक्ष हरिप्रसाद अधिकारी, विश्व हिन्दु महासंघ लमजुङका वरिष्ठ उपाध्यक्ष कमल अधिकारी, नमुना सामुदायिक अस्पताल सुन्दरबजारका प्रमुख हेमन्त श्रेष्ठ, राइनास नगरपालिका–८ का निमित्त वडाध्यक्ष पदमविलास पन्त, सार्वजनिक पुस्तकालय भोटेओडारका अध्यक्ष वसन्त खनाल तथा विभिन्न सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, संघसंस्था, क्लब, आमा समूह, पत्रकार, आजीवन सदस्य, दाता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराज ओलियाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सेवाश्रमले विगत २४ वर्षदेखि असहाय, बेसहारा तथा परिवारको साथबाट वञ्चित ज्येष्ठ नागरिकहरूको संरक्षण, हेरचाह, आवास, भोजन, स्वास्थ्य उपचार र सम्मानपूर्ण जीवनयापनका लागि निरन्तर सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो। उहाँले विभिन्न व्यक्ति, सरकारी तथा गैरसरकारी संस्था, स्वास्थ्य संस्था र समाजसेवीहरूको सहयोगबाट सेवाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको नियमित पालनपोषण, उपचार, औषधोपचार, पोषणयुक्त भोजन तथा आवश्यक दैनिक सामग्रीको व्यवस्थापन हुँदै आएको उल्लेख गर्नुभयो। आगामी दिनमा सेवाश्रमको सेवा अझ प्रभावकारी र विस्तार गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो।

त्यसैगरी कोषाध्यक्ष भूमिनन्दन तिमिल्सिना र लेखा अधिकृत विजय मिश्रले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय तथा आर्थिक अवस्थाबारे जानकारी गराउनुभयो।

स्थापना दिवसका अवसरमा सेवाश्रमको सेवामा निरन्तर सहयोग पुर्‍याउने संस्था तथा व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा प्रदेश अस्पताल बेसीशहर, एकीकृत सेवा कार्यालय बेसीशहर, नमुना सामुदायिक अस्पताल सुन्दरबजार, तार्कुघाट स्वास्थ्य चौकी, तार्कुघाट आयुर्वेद औषधालय, इन्जिनियर नितेश रिसाल, इन्जिनियर महेश थापा तथा स्थानीय समाजसेवी हर्क पाण्डे रहेका छन्। संस्थाले उनीहरूको सहयोगले सेवाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको जीवन सहज र सम्मानजनक बनाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ।

कार्यक्रममा वक्ताहरूले सर्वोदय सेवाश्रमले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ज्येष्ठ नागरिकहरूको संरक्षण र सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा पनि समाजका सबै क्षेत्रबाट सहयोग र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

सर्वोदय सेवाश्रम सञ्चालक समितिका ज्येष्ठ सदस्य चिजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुकदेव रिसालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।