वृक्षरोपण अभियानलाई रोटरी क्लबको साथ

-


     नयाँ दीप    
     श्रावण ७ गते २०८३ मा प्रकाशित


जन्मदिनमा वृक्षरोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। २०८३ साउन ७ गते रोटरी क्लब लमजुङका संस्थापक सदस्य, लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको शुभ जन्मदिनको अवसरमा आदिवासी जनजाति महासंघ लमजुङको भवन परिसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा क्लबले अब आफ्ना प्रत्येक सदस्यको जन्मदिन वृक्षरोपण गरेर मनाउने निर्णय गरेको छ।

आफ्नो जन्मदिनमा वृक्षरोपण गर्दै संस्थापक सदस्य श्रेष्ठले अबदेखि प्रत्येक जन्मदिन फजुल खर्च र तडकभडक नगरी प्रकृति तथा वातावरण संरक्षणमा योगदान पुग्ने गरी वृक्षरोपण गरेर मनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रोटरी क्लब लमजुङका अध्यक्ष एवं जन्मदिनमा वृक्षरोपण अभियान नेपालका आजीवन सदस्य राजु थापाले रोटरी क्लब लमजुङ अभियानसँग हातेमालो गर्दै अगाडि बढ्ने र अभियानको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अभियानका परिकल्पनाकार बासुदेव सेढाईले रोटरी क्लब लमजुङले जनाएको साथ र सहयोगप्रतिको प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै अभियन्ता रामकुमार श्रेष्ठलाई शुभ जन्मदिनको शुभकामना दिनुभयो।

कार्यक्रममा बेसीशहर नगरपालिका–२ का वडा अध्यक्ष मदन राना, लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, अभियन्ता एवं रोटरी क्लब लमजुङका निवर्तमान अध्यक्ष श्रीकृष्ण लामिछाने, अभियन्ता पवन केसी, आदिवासी जनजाति महासंघ लमजुङका प्रतिनिधि तथा रोटरी क्लब लमजुङका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।