मन्त्रिपरिषद् विस्तार : गृहमा सुधन गुरुङ, विज्ञान तथा नवप्रवर्तनमा महावीर पुन

-


     नयाँ दीप    
     जेठ २६ गते २०८३ मा प्रकाशित


प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह मन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीद्वयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। उनको सम्पत्ति विवरणसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनलाई निर्दोष ठहर गरेपछि पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो।

त्यस्तै म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। फागुन २१ गतेको निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावी प्रतिस्पर्धामा होमिएका थिए।

प्रधानमन्त्री शाहले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् विस्तार गरेको बताइएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै सरकारको कामकारबाहीले थप गति लिने अपेक्षा गरिएको छ।

गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेपछि ‘अब (अनुसन्धानका) हरेक फाइल खोलिने’ बताएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गर्दै उनले प्रक्रियामा रहेका अनुसन्धानका फाइल शीघ्र टुंग्याउन निर्देशन दिने निर्णय गरेका हुन् ।