
लमजुङको बेसीसहर नगरपालिका–११ तिलाहार ुमा रहेको ज्येष्ठ नागरिक सङ्घ समिति दिवा सेवा केन्द्रले नियमित रूपमा सञ्चालन गर्दै आएको भजन–कीर्तन कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ।
प्रत्येक महिनाको १ र १५ गते आयोजना हुने उक्त कार्यक्रममा त्यस क्षेत्रका एक सयभन्दा बढी ज्येष्ठ नागरिकहरू सहभागी हुने गरेका छन्। रामचोक गाउँ, बस्नेतडाँडा, बानियापधेरा, गैराथोक, तिनपिप्ले, तिलाहार, स्याउत, कार्कीडाँडा तथा पण्डितथोक लगायतका विभिन्न बस्तीबाट ज्येष्ठ नागरिकहरू कार्यक्रममा उपस्थित हुने गरेका छन्।
दिनभर सञ्चालन हुने भजन–कीर्तन तथा धार्मिक गतिविधिले समयको सदुपयोग हुनुका साथै आपसी भेटघाट र मनोरञ्जनको अवसर समेत प्रदान गर्ने भएकाले ज्येष्ठ नागरिकहरूको आकर्षण बढ्दै गएको सेवा केन्द्रका संरक्षक रुद्रनिधि तिवारी ले बताउनुभयो। उहाँका अनुसार यस्तो कार्यक्रम सञ्चालन भएको आठ वर्ष पूरा भइसकेको छ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूका लागि खाजाको व्यवस्था समेत गरिएको छ। चालु वर्ष बेसीसहर नगरपालिका ले ५० हजार रुपैयाँ तथा एकीकृत सेवा केन्द्र लमजुङ ले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए।
यसैबीच, ज्येष्ठ नागरिक सङ्घले आफ्नै स्रोत तथा देश–विदेशमा रहेका गाउँका स्थानीयवासीहरूको सहयोगमा १५ लाख रुपैयाँ संकलन गरी एम्बुलेन्स समेत खरिद गरेको छ। सङ्घका अध्यक्ष हरिकृष्ण तिवारीका अनुसार एम्बुलेन्सले ज्येष्ठ नागरिक तथा स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने अपेक्षा गरिएको छ।
त्यसैगरी, नगरपालिका र प्रदेश सरकारको सहयोगमा ज्येष्ठ नागरिक सङ्घ समिति दिवा सेवा केन्द्रले आफ्नै भवन निर्माण गरेको छ। हाल सोही भवनबाट नियमित रूपमा भजन–कीर्तन, भेटघाट तथा ज्येष्ठ नागरिक केन्द्रित विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। संरक्षक रुद्रनिधि तिवारीका अनुसार भवन निर्माणसँगै सेवा केन्द्रका गतिविधिहरू थप व्यवस्थित र प्रभावकारी बनेका छन्।










